रुपन्देही । सरकारले अगामि वर्षको बजेटमा रुपन्देहीका पुरानै आयोजनालाई निरन्तरता दिएको छ । अर्थमन्त्री डां प्रकाशशरण महतले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा जिल्लामा सञ्चालित पुराना योजनालाई निरन्तरता दिइएको हो ।
बजेटमा यस क्षेत्रमा कुनै नयाँ योजना भने परेका छैनन् । एक दशक देखि चालु र चर्चामा रहेका केहि आयोजनाले मात्रै बजेटमा निरन्तरता पाएका छन् । विष्णु पौडेल अर्थमन्त्री हुँदा जिल्लामा सुरु गरिएका अधिकांश योजनाले निरन्तरता पाएका हुन् । यस क्षेत्रका सांसद रहनुभएका पौडेलले आफु अर्थमन्त्री भएका बेला जिल्लामा दर्जनौ योजनाको थालनी गर्नुभएको थियो । कति योजना पूरा भइसकेका छने भने कुनै योजना चालु अवस्थामा र कुनै सञ्चालनको तयारीमा छन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डां प्रकाशशरण महतले रुपन्देहीको कर्साघाटमा कृषि उपज निर्यात बजारको पूर्वाधार निर्माण सुरु गरिने बताउनुभयो । यस्तै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरु गरिने, भैरहवा विशेष आर्थिक क्षेत्र ( सेज ) लाई पूर्ण क्षमतामा सञ्चालन गरिने, भैरहवाको एकिकृत जाँच चौकीको निर्माण कार्यलाई तिब्रता दिइने उहाँले बताउनुभयो ।
यस्तै सरकारले लुम्बिनी गुरुयोजनाका बाँकी कामलाई निरन्तरता दिइने जनाएको छ । बुद्धको जन्मस्थल र अन्य महत्वपूर्ण बौद्ध धार्मिक स्थलहरु समेटेर बुद्ध सर्किट क्षेत्रका रुपमा विकास गरिने जनाइएको छ ।
गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने ब्यवस्था मिलाइने छ । यहाँबाट उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलयित दिइने अर्थमन्त्री महतले बताउनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनीसँग बौद्धमार्गीलाई प्रत्यक्ष रुपमा जोडन थाइल्याण्ड, श्रीलंका, चीन भारत लगायतका राष्ट्रसँग गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइने छ ।
लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकाहरुमा एकिकृत शहरी पूर्वाधार निर्माण र बुटवलमा मेडिकल कलेज निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरिएको छ । बुटवलमा इन्टरनेट एक्सचेञ्ज निर्माणको संभाब्यता अध्ययन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
यसैगरी रुपन्देहीको सालझण्डीमा नजिकको सरकारी अल्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइनेछ भने लुम्बिनीमा एकिकृत खानेपानी खानेपानी तथा ढल व्यवस्थापनको कार्य सुरु गरिने जनाइएको छ ।
बुटवल— नारायणगढ बुटवल सडक खण्डको विस्तार तथा स्तरोन्नतीको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्नुका साथै बुटवल — गोरुसिंगे सडक खण्डको स्तरोन्नती पनि सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
तिनाऊ नदीमा सिंग्नेचर पुल निर्माण, सिद्धबाबा सुरुंग मार्ग, बेलबिया–बुटवल ६ लेन सडक खण्डको बाँकी कार्य र बुटवल–पाल्पा–पोखरा सडक खण्डको स्तरोन्नतीका लागि बजेट छुट्याइएको छ ।\