बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम सहित रु ८२ करोड ९९ लाख ५० हजार बराबरको बजेट विनियोजन गरेको हो । उपप्रमुख कल्पना हरिजन अस्वस्थ भइ नगरसभामा उपस्थित हुन नसकेपछि कार्यपालिका सदस्य रुबिना मुसलमानले बजेट प्रस्तुत गर्नुभएको थियो ।
जसमा संघको समानीकरण अनुदान तर्फ रु १७ करोड ३१ लाख, सशर्त अनुदान तर्फ रु ३४ करोड ३२ लाख, राजश्व बाँडफाडतर्फ रु १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदान तर्फ रु एक करोड ३० लाखको अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु १ करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै, गत वर्षको बैँक मौज्दात ३ करोड, सडक बोर्ड तर्फ ४० लाख गरी आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाइएको छ । यसअघि नगरपालिकाको ११ औँ नगरसभामा प्रमुख सजरुद्धिन मुसलमानले आगामी वर्ष २०८०÷०८१ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।