बुटवल । बुुटवल स्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीका बचतकर्ताहरुको उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरी उनी फरार भएका थिए ।
बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा मंगलबार भैरहवाबाट घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । डिएसपी अर्यालका अनुसार घर्तीविरुद्ध करिब ५० जनाले उजुरी दिएका छन् ।
यसअघि देशका विभिन्न ४३ वटा जिल्लाहरूमा सेवा केन्द्रमार्फत् बचतकर्ताहरूबाट रकम संकलन गर्दै आएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
लामो समय भारतको मुम्बईबाट एक जना भारतीयको घरमा लुकेर बसेका शर्मा नेपाल आएको बेला सोमबार नेपालगञ्ज–१५ बाट पक्राउ गरेको थियो ।
शर्मा देशभरका सेवा केन्द्र मार्फत बचतकर्ताहरूबाट संकलन गरिएको रु १२ अर्ब बढी रकम हिनामिना गरी सम्पर्कबिहीन भएका थिए । शर्मा सम्पर्कबिहीन भएपछि शिवशिखर सहकारी, तुलसी सहकारी र उनले लगानी गरेको अर्थन्युज एचडी टेलिभिजन समेत बन्द भएको छ ।
भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर र तुलसी बहुमुखी सहकारी संस्थामा देशभरका १ लाख ८९ हजार ८ सय ७९ जनाले बचत संकलन गरेका थिए ।
शिवशिखर सहकारीमा १ लाख ६८ हजार ७२५ जनाले बचत तथा मुद्दती मार्फत रु १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ र तुलसी बहुमुखी सहकारीमा २१ हजार १५४ जनाले रु १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ जम्मा गरेका थिए ।
बचतकर्ताहरूले जम्मा गरेको उक्त रकम शर्माले प्रचलित सहकारी ऐन र नियमावली विपरित आफू र आफू नजिकका व्यक्तिहरूको नाममा रहेका विभिन्न ४३ वटा कम्पनीमा लगानी गरी सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
दुइटै सहकारीको बचत रकम हिनामिना गर्ने कार्यका मुख्य नाइके नै शर्मा भएको अनुसन्धानमा खुलेपछि उनीविरूद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको प्रहरीले जनाएको छ ।