रामपुर। साना लगानीका उद्योग तथा व्यवसाय फर्म दर्ता स्थानीय तहबाट भएसँगै घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा नयाँ फर्म दर्ता सङ्ख्या घट्न थालेको छ । पाँच लाख पुँजिसम्मको फर्म दर्ता स्थानीय तह मै हुन थालेपछि कार्यालयमा नयाँ दर्ता सङ्ख्या घटेको हो ।
कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ मा उद्योग ५२१ र वाणिज्य फर्म ३७१ गरी ८९२ नयाँ फर्म दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा उद्योग २१३ र वाणिज्य फर्म १८४ गरी ३९७ नयाँ फर्म दर्ता भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।
गत वर्ष उद्योगतर्फ उत्पादनमूलक १९ वटा, कृषि तथा वनजन्य १३३ वटा, पर्यटनमा ३६ वटा र सेवामूलक २५ वटा उद्योग नयाँ दर्ता भएको छ । अघिल्लो आर्थिक वर्ष सम्म सञ्चालनमा रहेका तीन हजार ८३३ उद्योगमध्ये १४३ वटा फर्म खारेज भएको छ ।
वाणिज्य तर्फ किराना, फेन्सी तथा कपडा, कास्मेटिक, इलेक्ट्रोनिक्स, हार्डवयर, स्टेशनरी, भाँडा पसल, मदिरा तथा सुर्तीजन्य, सुनचाँदी र अन्य गरी अघिल्लो आर्थिक वर्ष सम्म सञ्चालनमा रहेका ४ हजार ४ सय ३७ फर्म मध्ये १ सय ९४ वटा फर्म खारेज गरेको पाईएको छ । गत वर्ष वर्षमा कार्यालयले फर्म नयाँ दर्ता, नविकरण, पुँजि वृद्धि बाट उद्योग तर्फ १९ लाख ४६ हजार १६४ र वाणिज्य तर्फ २६ लाख २० हजार ३७८ गरी ४५ लाख ६६ हजार ५४२ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारीले सङ्घीयताको मर्मअनुसार पाँच लाख सम्मको व्यवसाय स्थानीय तह मै गर्न सकिने भएकाले नयाँ उद्योग दर्ताको सङ्ख्या कार्यालयमा घट्न गएको बताउनुभयो ।