काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज मंगलबार तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । अस्ति आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।
आज चाँदी हिजोकै मूल्य तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै महँगो हो ।