काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सोमबार सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको हो । शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजारमा झरेको थियो ।
शुक्रवारको तुलनामा हिजो एक हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ । चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
यसअघि सोमवार सुन प्रतितोला एक लाख १७ हजार ४ सय तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।