काठमाडौंं । शेयर बजारमा आज आइतवार ३ पटक ‘सर्किट ब्रेक’ लागेको छ । तेस्रो पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको छ ।
आज बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेटमा खुलेको बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि फेरि १२ बजेर ७ मिनेटमा खुलेको बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार भन्द भएको हो ।
योसँगै आइतवार शेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव ९८ विन्दुमा पुगेको छ । आज ९ मिनेटको कारोबारमा १३ लाख कित्ता शेयर ४८ करोड २४ लाख रुपैयाँमा कारोबार भयो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजार बढेको हो । शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएको हो ।
आज बीमा, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, हाइड्रोपावर, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम् पावर र कालिञ्चोक दर्शनको शेयर १० प्रतिशतले बढेको छ । शेयर बजारमा सर्किट ब्रेक लागेको दिन ५ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।