बुटवल । बुटवलमा पुस ५ गते (बिहीबार) देखि लुम्बिनी एक्स्पो–२०८० अर्थात अन्तर्राष्ट्रिय व्यापार मेला सुरू हुँदै छ । व्यापारलाई आधुनिकीकरण र विशिष्टिकरण गर्ने उद्देश्यले आयोजित मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । एक्स्पोको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोको पूर्वसन्ध्यामा बुधबार विभिन्न झाँकीसहित जनचेतनामूलक ¥याली आयोजना गरिँदै छ ।
मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले शिथिल अर्थतन्त्रलाई मेलाले चलाएमान बनाउने विश्वास व्यक्त गर्नुभयो । एक्स्पोमा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोडको कारोवार अपेक्षा गरिएको घिमिरे बताउनुभयो ।
सहभागी गराउने लक्ष्य राखेकोमा हालसम्म होटल तथा रेष्टुरेन्ट २३, उनी, गार्मेन्ट तथा तयारी पोशाक १४१, अन्तर्राष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग÷जुत्ता चप्पल ६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी ७८, शृंगार, उपहार तथा खेलौना ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान ५३, बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्था १८, अटोमोबाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस ६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा बेकरिज १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस ८ र औषधीजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ वटा स्टल दर्ता भइसकेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
कृषि, महिला उद्यमी एवं सामाजिक संघसंस्थाहरुलाई निःशुल्क रुपमा केही स्टल उपलब्ध गराउने संघले जनाएको छ । एक्स्पोको अवलोकनका लागि टिकरदर ६० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि सहुलियतमा ५० रुपैयाँ तोकिएको छ । मेला अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुतिसँगै प्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । राष्ट्रिय ख्यातिप्राप्त, लोकदोहारी, आधुनिक, पप, हांस्यव्यङ्ग्य कलाकारदेखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने उनले बताउनुभयो ।
त्यसैगरी मेलामा लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता, डान्स आइडल–२०८०, लोक भजन प्रतियोगिता, विद्यालयस्तरीय वादविवाद प्रतियोगितासमेत राखिएको छ । यसपटक नौलो प्रस्तुतीका रुपमा युवाहरुलाई समेट्ने गरी ¥याप प्रतियोगितासमेत राखिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
रुपन्देही व्यापार संघले सुरुवात गरेको नयाँ डान्सर कलाकार उत्पादन गर्न डान्स आइडल प्रतियोगितालाई पनि यसपटक निरन्तरता दिइएको छ । डान्स आइडल–२०८० को सिजनको विजेताले १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छ । त्यसैगरी तृतीय हुनेले २० हजार प्राप्त गर्ने छ । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने प्रदर्शनी मूल आयोजक समितिका सदस्य सचिव दयानिधि भण्डारीले बताउनुभयो । एक्स्पोको सुरक्षालाई मध्यनजर गरी नीजि कम्पनीमार्फत आवश्यकताअनुसार सुरक्षा प्रवन्धसँगै सशस्त्र र जनपद प्रहरीले संयुक्त गस्ती गर्नेछन् । यसका साथै थप व्यवस्थित बनाउन विभिन्न स्थानमा सिसि क्यामेराको समेत व्यवस्था गरिएको छ ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष घिमिरेको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष संवाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरिसकेको छ ।