अर्घाखाँची- अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ । खेतबारीमा सिँचाइ सुविधा पुर्याएर कृषि, फलफूल र तरकारी उत्पादनलाई वृद्धि गर्ने उद्देश्यअनुसार जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर क्षेत्रफलमा सिँचाइयोग्य जमिन रहेकामा ३६ दशमलव ४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
जिल्लाभर २६ हजार १ सय १३ हेक्टर खेतीयोग्य जमिन मध्ये २१ हजार २ सय ४७ हेक्टरमा खेती हुँदै आएको कार्यालय प्रमुख इन्जिनियर भेषराज भुसालले बताए । ३ हजार १ सय १८ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ भने ५ हजार ४ सय २६ हेक्टरमा मौसमी सिँचाइ सुविधा उपलब्ध भएको उनले बताए ।
‘वर्षामा धानबालीमा सिँचाइ पुगेको छ,’ उनले भने, ‘हिउँदभर खेतबारीमा उत्पादन हुने हिउँदेबाली, तरकारी, फलफूल, मसलाबालीमा सिँचाइ सुविधा भएको छ । पछिल्लो समय कृषि फार्ममा सिँचाइ पुग्दैछ ।’ धेरै ठूलो खेतमा कुलो निर्माणको काम धमाधम भएको छ । पानीको मुहान र खेलाबाट कच्ची कुलो टालटुल पारेर खेतबारीमा सिँचाइ भएका ठाउँमा पनि पक्की कुलो निर्माण गर्दा पानीको चुहावट नहुने, बाँधको पूरै पानी खेतबारीसम्म पुग्दा सिँचाइ पर्याप्त हुने गरेको भुसालको भनाइ छ ।
‘हाम्रो काम किसानको मागअनुसार सिँचाइ कुलो, पाइपबाट खेतबारीमा पानी पुर्याइदिने हो,’ उनले भने, ‘कृषि उत्पादन वृद्धिमा कृषि कार्यालयले हेर्छ । जहाँ सिँचाइ पुगेको छ, त्यहाँ किसानलाई सहज, पानीको खपत र उत्पादन पनि बढेको छ ।’
बजेट अभावमा सुरु गरिएका ठूला सिँचाइ योजना सम्पन्न गर्न वर्षौं समय लाग्ने गरेको पनि उनले बताए । एक दशकमा अन्न भण्डारका रूपमा रहेको ठूलापोखरास्थित चौवाटार सिँचाइ आयोजना सम्पन्न हुन दशक लागेको थियो । यहाँ सिँचाइ पुगेपछि समयमै धान राप्ने, हिउँदे बाली, मौसमी र बेमौसमी तरकारी उत्पादनमा फार्म खोल्ने कृषकको संख्या बढ्दो छ ।
आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त १७ करोड ८० लाख ७८ हजार रुपैयाँको बजेटमध्ये १५ करोड ३४ लाख ६ हजार रुपैयाँ अर्थात् ८६ दशमलव १५ प्रतिशत खर्च भएको र ९७ दशमलव भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।
गत वर्ष सुरु भएका १ सय ३३ सिँचाइ योजनामध्ये १ सय २३ योजना सम्पन्न भएका छन् भने २ योजना क्रमागत (बहुवर्षे) मा रहेका छन । ८ वटा योजना कार्यान्वयनमा जान सकेका छैनन् ।
कार्यालयका सूचना अधिकारी रामजीप्रसाद भट्टराईले स्वीकृत बजेट अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयबाट ८६ वटा बाँध निर्माण, १५ दशमलव ८७ किमि पक्की कुलो निर्माण, ४ वटा पोखरी निर्माण, १९ हेक्टरमा थप सिँचाइ सुविधा विस्तार, ३ सय ९० हेक्टरमा सिँचाइ सुदृढीकरण, १ दशमलव ०१ किमी तटबन्ध, ४ दशमलव ३५ हेक्टर जमिन उकास, ३७ घर र ६१ हेक्टर जमिन सुरक्षित लगायतका काम गर्ने योजना रहेको उनले बताए ।