बुटवल-बुटवलको कृषि उपज थोक बजार केन्द्रले एक वर्षमा २ लाख ३१ हजार ४ सय २० क्वीन्टल आलुको कारोबार गरेको छ। यसमध्ये २ लाख २६ हजार ५ सय २० क्वीन्टल आलु आयात गरिएको हो।
बुटवलमा रहेको कृषि उपज थोक बजार केन्द्रमा ९७ प्रतिशत आलु छिमेकी मुलुकबाट आउने गर्दछ। गत आर्थिक वर्ष २०८१/०८२ मा बुटवलको कृषि उपज केन्द्रमा २ लाख ३१ हजार ४२० क्वीन्टल आलुको कारोबार भएको र नेपालमा उत्पादित ४ हजार ९१० क्वीन्टल मात्र बुटवलको थोक बजार केन्द्रमार्फत खपत भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष घनश्याम भुसाल (गोपाल) बताउँछन्।
नेपाली आलुले केही महिनाको माग पूरा गर्ने मात्र उत्पादन हुँदा बजारमा पर्याप्त नआएको उनले बताए। ‘देशभित्र उत्पादित आलु ३ महिनालाई मात्र पुग्छ, त्यसैले बाँकी सबै महिना भारतीय आलुमा भर पर्नुपर्छ-उनले भने-नेपालमा ठूलो क्षेत्रमा आलु खेती हुँदैन, त्यसैले महंगो पनि हुन्छ ।’
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २ लाख १४ हजार ९२० क्वीन्टल आलु थोक बजारमा आएको थियो। जसमा डेढ प्रतिशत अर्थात २ हजार ९७० क्वीन्टल मात्र नेपाल भित्रै उत्पादित आलु थियो।
बाँकी २ लाख ११ हजार ९५० क्वीन्टल भारतबाट आएको हो। गत आर्थिक वर्षमा बुटवलको कृषि उपज संकलन केन्द्रमा ९४ करोड ८७ लाख ५८ लाख रुपैयाँको आलु कारोबार भएको थियो। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २० करोडभन्दा बढीको आलु थोक बजारमा भित्रिएको थियो।
आर्थिक वर्ष २०८०/०८१ मा ७४ करोड ५३ लाख ८७ हजारको आलु बुटवलको थोक बजारमा कारोबार भएको थियो। जसमध्ये ७३ करोड ३८ लाख १३ हजार रुपैयाँको आलु आयातका लागि बाहिरिएको थियो। आलु बेचेको १ करोड १५ लाख ७३ हजार रुपैयाँ मात्र नेपाली किसान माझ पुगेको थियो।
गत आर्थिक वर्षमा ३ लाख ४८ हजार २० क्वीन्टल हरियो तरकारी बुटवलको थोक बजार केन्द्रमा भित्रिएको थियो। जसमा २ लाख ५९ हजार ५०० क्वीन्टल नेपाली उत्पादन हो।
८८ हजार ५२० क्वीन्टल मात्र भारतबाट आयात भएको हो । गत आर्थिक वर्षमा १ अर्ब ७२ करोड, ७३ लाख रुपैयाँको तरकारी कृषि उपज थोक बजार केन्द्रमा आएको थियो। त्यसमा त्यसबाट अधिकांश रकम नेपाली किसानमै पुगेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हरियो तरकारीको कारोबार ४६ करोडले बढेको देखिएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २६ करोडको तरकारी बुटवलको कृषि उपज थोक बजार केन्द्रमा आएको थियो।
हरियो तरकारीमा वर्षेनी आत्मनिर्भरता बढेको थोक बजार केन्द्रका अध्यक्ष भुसाल बताउँछन् ।