काठमाडौँ -मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतवारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ।
गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
विभागको तथ्याङ्कअनुसार मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकामा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३ दशमलव ३ प्रतिशत हो।
कोशी प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ। यसैगरी, मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।
बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ९६ दशमलव ६३ प्रतिशत रोपाइँ भएको छ।
लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९८ दशमलव ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९९ दशमलव ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष पनि ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ।