भैरहवा–भैरहवा भन्सार कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा लक्ष्य भन्दा बढी राजश्व असुली गरेको छ।
मुलुककै दोस्रो ठूलो र प्रदेश ५ को पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयले देशको विषम परिस्थितिमा पनि सेवा जारी राख्दै लक्ष्य भन्दा ४७ लाख बढी राजश्व असुली गरेको हो।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले देशका अन्य सबै नाका बन्द गरी भैरहवा सहित १० वटा नाका मात्र खोलेको छ।
‘भैरहवा भन्सार लकडाउनमा अहिलेसम्म बन्द नै भएको छैन। दैनिक १८ करोड ६२ लाखका दरले साउन महिनमा हामीलाई ५ अर्ब ९५ करोड ९३ लाख लक्ष्य थियो । कार्यालयले सो लक्ष्य पार गर्दे ५ अर्ब ९६ करोड ४० लाख २८ हजार ३ सय १० रुपैया राजश्व असुली गर्न सकेको छ’–भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पूण्य प्रसाद लम्सालले भने।
लकडाउन र निषेधाज्ञाका कारण समग्र व्यापारमा गिरावट आएपनि भैरहवा नाकामा खासै असर नपरेको उनले बताए।
‘हामीले पहिलो महिनामा ४७ लाख १३ हजार ३ सय १० रुपैया लक्ष्य भन्दा बढी असुली गरेका छौ। सिमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथले चोरी पैठारी रोकिनु, अन्य नाकाका वस्तु पनि बेलहिया नाकाबाट आउनु, नियन्त्रण र निगरानी बढ्नुले पनि भन्सारको लक्ष्य पुर्याउन सहयोग पुगेको हो’–सूचना अधिकारी लम्सालले लुम्बिनी टाइम्ससँग भने।
मुख्यत १० वस्तुको आयातले पनि लक्ष्यको एकतिहाई राजश्व असुलीमा योगदान गरेको छ। कार्यालयले मोटरसाइकलबाट ४४ करोड ९१ लाख, ग्लेज टायलबाट २५ करोड ३ लाख, एक एस विलेटबाट २१ करोड ३७ लाख, मोबाइल टेलिफोन सेटबाट १८ करोड ३ लाख, सिङगल क्याब पीकअपबाट १६ करोड ६८ लाख राजस्व असुली गरेको छ।
यस्तै डिजेलबाट १६ करोड ४८ लाख, पेट्रोलबाट १६ करोड २४ लाख, पोलिथीन दानाबाट १५ करोड ५६ लाख, मार्बल स्ल्याबबाट १२ करोड ३ लाख र डबल पीकअप गाडीबाट ८ करोड ८७ लाख राजश्व असुली भएको छ।
लक्ष्यको ३२ दशमलव ७६ प्रतिशत राजश्व यी वस्तुबाट नै असुली भएको कार्यालयले जानकारी दिएको छ। यस्का साथै हलुका सवारी साधन, क्लिङ्कर, फ्लाइऐस, औद्योगिक कच्चा सामग्री, खाद्यान्न फलफुल तथा आलुप्याज आयातले पनि योगदान गरेको छ।
लकडाउन र देशको विषम अवस्थालाई मध्यनजर गर्दै भन्सार कार्यालयले भन्सारमा आएको सबै अतिआवश्यक प्रकृतिका गाडी छिटो भन्दा छिटो भन्सार पास गरी गन्तव्यतिर पठाउदै आएको छ।
‘नियमित रुपमा आवश्यक सामग्री आयात भइरहेको छ, जोखिम हुदाहुदै पनि सुरक्षित भएर काममा निरन्तर छौ, अहिले सम्म कुनै कर्मचारी पनि संक्रमित भएको छैन हामी अलर्ट भएरै दुरी कायम गरी काम गरिरहेका छौ’–सूचना अधिकारी लम्सालले बताए।
एक हप्तादेखि कार्यालयले खुद्रा सामानहरुको आयातमा कमी भएको छ। खुद्रा सामानहरु स्थानीय बजारबाट आउदा जोखिम बढी हुने भएकोले केही कमी भएपनि अन्य मालबाहक गाडीहरु पास भइरहेको कार्यालयले जनाएको छ।
अतिआवश्यक वस्तुको खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेल, औषधीजन्य वस्तुको आयात पनि बढेको छ। शनिबारबाहेक दैनिक ४ सय देखि ५ सयको संख्यामा मालवाहक गाडी भन्सार पास भइरहेका छन्।
सर्वसाधारण आवगमनमा पूर्ण बन्देज लगाएको सरकारले देशका मुख्य मुख्य नाकाबाट आयातमा कुनै रोकावट नगरी अतिआवश्यक सामग्री सोही नाकाबाट भित्र्याइरहेको छ।
कार्यालयलाई आव २०७७/७८का लागि विभागले ९८ अर्ब ४५ करोड ४२ लाख वार्षिक लक्ष्य दिएको छ। गत वर्ष १ खर्ब ६ अर्ब रहेको लक्ष्य यस वर्षको विषम परिस्थितिले गर्दा ८ अर्ब कम छ।