बुटवल-रुपन्देहीका केही उद्योगी व्यापारीले निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएका छन्। भदौ १४ गते जिल्ला प्रशासन कार्यालयले अन्तिमपटक भन्दै निषेधाज्ञा जारी गर्न सहमति जनाएको भन्दै उनीहरुले अबदेखि निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएका छन्।
उद्योग व्यापार संगठन रुपन्देहीले विज्ञप्ति निकालेर अब हुने निषेधाज्ञाको अवज्ञा हुने चेतावनी दिएको हो।
‘लकडाउनले गरिखाने व्यवसायीहरु थिचोमिचोमा परेको र आफ्नो व्यवसाय पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकोले सरकारले आफु मातहतका विद्युत, टेलिफोन, खानेपानी महसुल तथा कर कुनैमा पनि केही छुट नदिएको तर उद्योगी व्यवसायीहरु उद्योग व्यवसाय बारम्बार बन्द गरेर बस्नुपर्ने अवस्था छ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गरिने र नमानेको खण्डमा व्यवसाय खोल्नको लागि सूचना समेत जारी गरिने उनले बताए।
'निरन्तरको लकडाउनले उद्योग व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता तिर्न नसक्ने, घरबहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने, उद्योगीहरुले कच्चापदार्थ र तयारी वस्तु ओसारपोसारमा समस्या भएको, पसलहरुमा रहेको सामान सड्ने, बिग्रने, मिस्त्री, मजदूर, प्राविधिक आदिको व्यवस्थामा समस्या भएको छ'-विज्ञप्तीमा उल्लेख छ ।
उद्योगी व्यवसायीले तिर्नुपर्ने खर्चहरु रिडिङ मिटर जस्तै बढिरहने र बन्दाबन्दीका कारण उत्पादन भएका सामग्री बिक्री गर्न नपाउने भएको हुँदा बन्दाबन्दी र निषेधाज्ञा गर्न नहुने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए।
कोभिड–१९ को संक्रमणका कारण नेपालमा चैत ११ गतेदेखि नै बन्दाबन्दी हुँदै आएको छ। असार १ देखि साउन मसान्तसम्म केही खुकुलो पारिए पनि भदौ १ गते विभिन्न जिल्ला तथ स्थानीय तहमा लकडाउनको अवधि बढ्दै गएको छ। जसका कारण उद्योगधन्दादेखि व्यापार व्यवसाय प्रभावित भएका छन्। पछिल्लो समय सर्वसाधारणबाट पनि लकडाउनको विरोध हुन थालेको छ।