बुटवल-रुपन्देहीका उद्योगी व्यवसायीले सुरक्षित रुपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई अनुरोध गरेका छन्।
रुपन्देहीका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर सावधानीपूर्वक व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्।
बुटवलका खिमबहादुर हमाल, सिद्धार्थनगरका कुलप्रसाद न्यौपाने, तिलोत्तमाका गुणनिधि भण्डारी, सैनामैनाका राजबहादुर क्षेत्री र देवदहका गोपालप्रसाद ढकालले निकालेको विज्ञप्तिमा भनिएको छ-बन्दाबन्दी र निषेधाज्ञालाई पूर्वाधार विकास र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति वा परिवारको पीसीआर परीक्षणको अवसरका रुपमा लिनुको सट्टा सम्बद्ध निकायले विश्रामको रुपमा लिएको अनुभूति गरेका छौं, तत्काल पूर्वाधार निर्माण र पीसीआर परीक्षणलाई तीब्रताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं।'
यस्तै रुपन्देही उद्योग संघले विज्ञप्ति निकालेर लकडाउनको विकल्प खोज्न आग्रह गरेको छ। संघका अध्यक्ष बाबुराम बोहोरा र महासचिव जीवकान्त काफ्लेले जारी गरेको विज्ञप्तिमा लकडाउनको विकल्प खोजेर सावधानी र सतर्कता अपनाउदै व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ-'डब्लुएचओको भनाइअनुसार कोरोनाको जोखिम लामो समयसम्म रहनसक्ने हुँदा लकडाउनको विकल्प खोजी सतर्कता र सावधानीलाई कडाइका रुपमा लागू गरी आम जनजीवनलाई सहज बनाउनुपर्ने अत्यावश्यक देखिन्छ।'
संघले लकडाउनको अन्त्य गर्न माग गरेको छ।
यी संस्थाहरुले जारी गरेका विज्ञप्ति