गुल्मी–गुल्मीको प्रमुख पर्यटकीय एव धार्मिक तपोभूमि रेसुङ्गामा वन्यजन्तुको शिकार र धार्मिक वन नष्ट हुन थालेपछि प्रहरी चौकीको माग गरिएको छ ।
रेसुङ्गा क्षेत्रमा दैनिक खुलेयाम वन्यजन्तु शिकार गर्ने र सयौ स्थानीयले घाँस दाउरा गर्न थालेपछि चौकीको आवश्यकता भएको रेसुङ्गा संरक्षण समिति गुल्मीका अध्यक्ष सुरेश भुसालले जानकारी दिए ।
उनले आफुहरु नै रेसुङ्गा भएको बेला पटक–पटक बन्दुक पड्काएर वन्यजन्तु शिकार गरिएको, स्थानीयले खुलेयाम घाँस दाउरा काट्ने गरेको र मन्दिर, पौवा होटल लगायतका महत्वपूर्ण संरचनासँगै विभिन्न धार्मिक मेला हुने गरेकाले चौकीको आवश्यकता महसुस गरिएको बताए ।
कैयौँ मजदुरहरुले रातको समयमा रेसुङ्गाबाट दाउरा लिएर तम्घास बजारका विभिन्न व्यक्तिकोमा बेच्ने गरेका छन् । घरधनीहरुलेनै आफैले घाँस दाउरा बोक्छन् ।
नियामक निकाय मौन
रेसुङ्गा वन क्षेत्रको विनास र वन्यजन्तु शिकारको बारेमा नजिकैको डिभिजन वन कार्यालय पनि जानकार छ । तर वन क्षेत्रको संरक्षण र चोरी शिकारीका बिषयमा डिभिजन वन नै मुकदर्शक देखिन्छ ।
रेसुङ्गा वन क्षेत्रको विनास र चोरी शिकारीको बिषयमा मौखिक रुपमा धेरै फोरमहरुमा आवाज उठ्यो । लिखित रुपमा पनि प्रहरीचौकीको माग गर्दै ०७६ मंसिर १७ गते प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निवेदन दिइएको छ । मंसिरदेखि जेठ अन्तिम सातासम्म केहि कामनै अगाडी बढेन ।
रेसुङ्गा संरक्षण समितिले प्रहरी र प्रशासनले कुनै चासो नदेखाएपछि ०७७ जेठ २६ गते जिल्ला समन्वय समिति प्रमुखलाई रेसुङ्गा धार्मिक वन तथा जीवजन्तु संरक्षणको बिषयमा निवेदन दिए ।
संरक्षण समितिको निवेदनपछि जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नगर प्रमुख र संरक्षण समिति र नागरिक समाजसहितको वैठक डिभिजन वन कार्यालयमै बस्यो ।
सर्वपक्षिय बैठकमा रेसुङ्गाको अवस्थाका बारेमा व्यापक कुरा उठे । तत्काल सुरक्षा समितिको बैठक बसेर चौकी सिफारिस गर्ने निर्णय समेत गरियो ।
तर अहिलेसम्म कार्यान्वन गरिएको छैन् । ०७७ भदौ १५ गते बिगतका सवै निवेदन र बैठकका निर्णय लिएर प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई पुनः ध्यानाकर्षण गराइएको गुल्मी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
रेसुङ्गा क्षेत्रको वन विनाश र चोरी शिकारीको बिषयमा आफुहरुले पटक–पटक आग्रह गरे पनि नियामक निकाय मौन बसेको भण्डारीले गुनासो गरे ।
उनले अहिले पनि प्रमुख जिल्ला अधिकारीले कोभिडको कारण र पुन: निवेदन माग गरेकाले निर्णय कार्यान्वयनमा शंका व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले संरक्षण समितिबाट चौकी माग भएकाले सुरक्षा समितिको बैठकबाट गृहलाई सिफारिस गर्ने बताए ।
आमरण अनशनको चेतावनी
गत भदौ ७ गते रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश भुसाल, गुल्मी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारी, रेसुङ्गा नगरपालिकाका सव–इन्जिनियर चक्र केसीले घाँस ल्याएर रेसुङ्गाबाट झरेको एउटा जीपलाई रोके ।
रेसुङ्गा संरक्षण समिति अध्यक्ष भुसालले गाडीबाट सवै घाँस झारे पनि । त्यो एक दिनको प्रयत्न थियो । घाँस दाउरा गर्ने धेरै हुने भएकाले रोक्न खोज्ने आफुहरुनै असुरक्षित भएको भुसालले बताए ।
उनले केही समय पहिले घाँस दाउरा गर्ने महिलाहरुलाई फोटो खिच्न खोज्दा आफुलाई नै कुटपिटको प्रयास समेत भएको गुनासो गरे ।
‘घाँस दाउरा काट्नेहरु बिरुद्ध आवाज उठाउँदा मलाई महिलाले घेरेर कुट्न कस्सिए,’उनले भने,‘दिउँसै वन्यजन्तु शिकार हुँदा प्रहरी प्रशासन मौन छन्, संरक्षण समितिसंग हेरालु समेत बजेट छैन् ।’
रेसुङ्गाको दैनिक दोहन बढ्दै जाने तर नियामक निकाय मौन बसे रेसुङ्गाका पिठाधिस तारा गुरु र संरक्षण समिति अध्यक्ष सुरेश भुसालले संयुक्त रुपमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
अझै पनि जिल्लाका निकायहरुबाट समस्या समाधान होस् भन्ने पक्षमा आफुहरु भएकाले माग पुरा नभए आमरण अनशन बस्ने भुसालले बताए ।