बुटवल-बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवलको बजार अनुगमन गरेको छ । महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई खुखुलो गरेपछि व्यबसायीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा बजार अनुगमन गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुटवल र बुटवल उद्योग बाणिज्य संघले गरेको अनुगमनमा ९५ प्रतिशत व्यबसायीले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गरेको पाईएको र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यबसायीलाई मापदण्ड पालना गर्न आग्रह गरिएको संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताए। त्यस्तैगरी प्रशासनले नियमन गरेको मापदण्ड समेत पालना गर्न आग्रह गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न तथा सेनिटाईजरको प्रयोग गर्न र पसलमा आउने ग्राहकलाई समेत सोही अनुसार गराउन व्यापारीहरुलाई सुझाव दिएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुको नेतृत्वमा बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्यहरु बसन्त ढकाल, प्रकाशकुमार श्रेष्ठ र मुक्ति अधिकारी तथा ईलाका प्रहरी कार्यालय बुटवलका दुईजना प्रतिनीधि प्रहरी सहभागि भएको अनुगमन टोलीले बुटवलको अमरपथ, राममन्दिर लाईन, टाफिकचोक, जेसीजचोक हाटबजार, संगमपथ लगायतका स्थानमा अनुगमन गरेको थियो।
रुपन्देहीमा रहेका ५ वटा उद्योग बाणिज्य संघले स्वास्थ्य मापदण्ड पालना गरि व्यबसाय सञ्चालन गर्ने गरि लकडाउनलाई खुकुलो बनाउन प्रशासनमा पैरवी गरिएको र सोही अनुसार व्यबसायीलाई स्वास्थ्य मापदण्ड पालना गराउने पनि संघकै दायित्व भएकाले बजार अनुगमन गर्नुका साथै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुपरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए।
उद्योग बाणिज्य महासंघमा आवद्ध बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ र सैनामैना उद्योग बाणिज्य संघले करिव ६ महिनादेखिको लकडाउनका कारण उद्योग व्यबसाय ठप्प हुँदा उद्योग व्यबसाय धाराशायी भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरि व्यापार व्यबसाय सञ्चालन गर्नेगरी लकडाउनलाई खुकुलो बनाउन प्रशासन तथा जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका थिए।