बुटवल–रुपन्देही व्यापार संघले सरकार व्यवसायीहरुसँग राजश्व तथा कर असुल गर्न तथा बैंकहरु ऋण र व्याज बुझाउन बाध्य पार्ने काममा लागेको भन्दै आपत्ति जनाएको छ।
संघले लकडाउनका कारण तहसनहस बनेको व्यापार व्यवसाय तथा अर्थतन्त्र चलायमान बनाउन लकडाउनको विकल्प खोज्नुपर्ने र जनजीवनलाई कोरोनासँगै जुध्दै गतिविधि सुचारु गर्ने वातावरण बनाउने तर्फ लाग्नुको साटो त्यसको विपरित व्यवसायीलाई बाध्य बनाउने काम गरेको भन्दै आपत्ति जनाएको हो।
सघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानीधि भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘कोरोना संक्रमणले सम्पूर्ण क्षेत्र प्रभावित मात्र होइन तहसनहस हुने अवस्थामा पुगेको सबैलाई जगजाहेर रहेको छ, लकडाउनका कारण तहसनहस बनेको व्यापार व्यवसाय तथा अर्थतन्त्र चलायमान बनाउन लकडाउनको विकल्प खोज्नुपर्ने र जनजीवनलाई कोरोनास“गै जुध्दै गतिविधि सुचारु गर्ने वातावरण बनाउनु अहिलेको आवश्यक्ता हो।’
विज्ञप्तिमा विषम अवस्थामा सरकारले व्यवसायीहरुलाई राजश्व तथा कर दाखिला गर्नु पर्ने समय सिमा तोकेर तथा बैकले ऋण र व्याज बुझाउन दवाव दिइरहेको छ भनिएको छ।
संघले धराशायी बन्दै गएका उद्योग व्यवसायीसंग बैक व्याज, कर र राजश्व उठाउनेतर्फ सरकार तथा सम्बन्धित निकाय केन्द्रीत हुनु ज्यादै दुःखको कुरा भएको भन्दै सरकारसंग राजश्व बुझाउने र बैकसंगको ऋण तथा व्याज तिर्ने समय सिमा थप गर्न आग्रह गरेको छ।
विज्ञप्तिमार्फत बन्द रहेको व्यापार व्यवसायलाई सञ्चालन गर्ने बातावरण सिर्जना गर्नु तथा पिडामा रहेका व्यवसायीहरुलाई राहातका प्याकेजको व्यवस्था गर्नु पर्ने समयमा सरकार तथा बैकले व्याज, कर र राजश्व तिर्न दवाव दिनु गैरजिम्मेवारीपन भएको भनिएको छ।
लकडाउनको समयमा घर तथा सटरकोठा भाडामा लिएर व्यापार व्यवसाय गरेका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नपाएको अवस्थामा घर तथा सटरकोठा भाडा तिर्न नसक्ने भएको हुँदा घरभाडा छुट दिन गरिएको अनुरोधलाई व्यवहारमा उतार्न अनुरोध गरिएको छ।