काठमाडौं–यातायात व्यवसायीले असोज १ देखि सार्वजनिक गाडी चलाउन दिन सरकारसँग माग गरेका छन्। बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तीनवटा मजदुर संगठनको टोलीले यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात चलाउन दिन सरकारसँग माग गरेका हुन्।
व्यवसायीहरुले गाडी चलाउन नपाउँदा बैंक किस्ता तिर्न नसकेको, सवारी साधन खिया लागेको, मजदुरहरु भोकै परेको लगायतका कारणले आफूहरु गाडी चलाउनै पर्ने अवस्थामा पुगेको बताएका छन्।
सरकारले यसअघि भदौ १५ देखि सार्वजनिक सवारी चलाउन दिन निर्णय गरेपनि कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक सवारी चलाउने मिति असोज १ पुर्याएको थियो।
‘हामीले ६ महिनादेखि सरकारले भने अनुरुप सार्वजनिक सवारी घर ग्यारेजमै थन्क्याएर राख्यौं। अब सबै हिसाबले सवारी सञ्चालन गर्नै पर्ने अवस्था आएको छ,’ महासंघका महासचिव सरोज सिटौलाले भने,–’असोज १ देखि सबै खाले सवारी चलाउने व्यवस्था गर्न विभागलाई आग्रह गरेका छौं। अनुमति नदिइए स्वतस्फुर्तरुपमा सवारी चलाउन व्यवसायीहरु बाध्य हुनेछन्।’
कोरोना भाइरस संक्रमण बढेसँगै सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेयता लामो दूरीका सार्वजनिक सवारी चल्न सकेका छैनन्।
सरकारले असार २६ गते देखि जिल्लाभित्र चल्ने गरी छोटो दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। पछिल्लो पटक भदौ ३ देखि उपत्यकालगायत ४० भन्दा बढी जिल्लामा आशिंक तथा पूर्ण निषेधाज्ञा जारी गरेकाले छोटो दूरीका बस समेत सञ्चालन हुन सकेका थिएनन्।
'सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक सवारी चलाउनुपर्ने अवस्था आएको छ। सवारी सञ्चालन गर्न नदिने हो भने मजदुरसँगै सवारी धनीहरु पनि टाट पल्टिने अवस्था छ,’- सिटौलाले भने। त्यसैले सबै बाच्नका लागि सुरक्षित ढंगले सवारी सञ्चालन गर्नुको विकल्प नरहेको उनको जिकीर छ।
यातायात व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय र यातायात व्यवसायी समेतको सहभागितमा सरकारले यसअघि नै सार्वजनिक यात्रुवाहक सवारी सञ्चालनका लागि स्वास्थ्य मापदण्ड बनाएको थियो। सोही मापदण्ड पालना गरेर सवारी सन्चालन गरिने भन्दै व्यवासायीले अनुमति दिन विभागसँग आग्रह गरेका छन्।