बुटवल–रुपन्देहीका होटल व्यवसायीहरुले असोज १ गतेदेखि होटल सञ्चालन गर्ने तयारी थालेका छन्। उनीहरुले कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको र राहत दिन नसकेको भन्दै असोज १ गतेदखि व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका छन्।
होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालले बिहीबार जारी गरेको विज्ञप्तिमा सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गर्दै असोज १ गतेदेखि होटल सञ्चालन गर्ने जनाएका छन्।
होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोड्नु परेको अवस्था हुँदा पनि व्यवसायीको पीडामा सरकारले मलम लगाउन नसकेको होटल व्यवसायीको गुनासो छ।
‘संघ सरकार, प्रदेश सरकार, स्थानीय तह समेतमा पटक पटक व्यसायीका समस्या र कोरोनाका कारण भोग्नुपरेको आर्थिक पीडाका बारेमा जानकारी गराउँदा समेत राज्य तहबाट कुनै सुनुवाई नभएकोले सरकारी निषेधाज्ञाको अवज्ञा गरी व्यवसाय सञ्चालन गर्न बाध्य हुनुपरेको छ’–विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा होटल तथा रेष्टुरेण्ट सञ्चालनका लागि लिईएका घरहरुकोे लकडाउन अवधिको भाडा सहज वातावरण भएपछि क्रमिक रुपमा तिर्ने गरी वातावरण बनाईदिन घरधनीसँग माग गरिएको छ।
लकडाउनको समयमा केही घरधनीले भाडा छुट दिएको प्रति संघले धन्यवाद प्रकट गदै व्यवसायीलाई थप राहत दिन समेत घरधनीहरुसँग आह्वान गरिएको छ। रुपन्देहीमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा १६ अर्ब भन्दा बढीको लगानी भएको ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यवसायमा राज्यले राहत दिन नसक्दा करिब १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोड्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिने भन्दै विज्ञप्तिमा सरकार, स्थानीय तहबाट व्यवसायीले गरेको निर्णयमा सहयोग गरिदिन पनि माग गरिएको छ।
त्यस्तै यातायात व्यवसायीले पनि असोज १ गतेदेखि मुलुकभर सवारी साधन सञ्चालन गर्ने निर्णय प्रति पनि संघले ऐक्यवद्धता जनाएको छ। संघ मातहतमा १ हजार २ सय व्यवसायी आवद्ध रहेका छन्।
होटल खोल्नेबारे निर्णय भएको छैन: प्रमुख जिल्ला अधिकारी
होटल व्यवसायीले होटल सञ्चालन गर्ने बताएपनि स्थानीय प्रशासनले भने यसबारे कुनै निर्णय नभएको जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले यही भदौ २८ गतेसम्म रुपन्देहीमा शर्तसहितको निषेधाज्ञा जारी रहेकोले अहिले होटल व्यवसाय सञ्चालन गर्नेबारे कुनै निर्णय नभएको बताए।
‘होटल व्यवसाय खुला गर्नेभन्नेबारे व्यवसायीहरुले माग गर्नुभएको छ, तर रुपन्देहीमा संक्रमितको संख्या निरन्तर बढिरहेको र ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाले तत्काल होटल खोल्नेबारे निर्णय हुन कठीन छ,–उनले लुम्बिनी टाइम्ससँग भने–होटल खोलेपछि उत्पन्न हुने अवस्थाबारे निक्र्योल गरेर मात्रै निर्णय गर्नुपर्ने हुन्छ, अहिलेसम्मको अवस्थाअनुसार होटल व्यवसाय खुला हुँदैनन्।’
उनले भदौ २८ मा बस्ने बैठकले यसबारे थप निर्णय गर्ने बताए। स्थानीय प्रशासनले अहिले रुपन्देहीमा होटलमा टेक अवे पनि खोलेको छैन ।