गुल्मी–इस्मा जडिबुटी उद्यान। यो प्रदेश न. ५ को पहिलो उद्यान हो। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि यो जडिबुटी उद्यानलाई सञ्चालनमा ल्याएको छ।
गुल्मीको इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको राधाकृष्ण टोलमा जडिबुटी उद्यान निर्माण गरिएको छ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन निर्देशनालय डिभिजन वन कार्यालयको एक करोड लागतमा जडिबुटी उद्यान निर्माण गरिएको छ।
मध्यपहाडी क्षेत्रमा पाइने बढी व्यवसायी महत्व भएका जडिबुटी, गैरकाष्ठ वन पैदवारको प्रर्दशन, तीनको सूचना प्रवाह र निजी क्षेत्रसँगको सहकार्यमा व्यवसायीकरण गर्न र जडिबुटी पर्यटनमा सहयोग पुराउने उदेश्यले जडिबुटी उद्यान सञ्चालनमा ल्याइएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए।
उद्यान देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनको २.५४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। अहिले उद्यानमा अगरउड, रुद्राक्ष, श्रीखण्ड, एभोकाडो, टिमुर लगायतका २८ प्रजातिका बहुमुल्य बिरुवाहरु रोपिएको सापकोटाले बताए।
उद्यानमा रोपिएका बिरुवा एक वर्षकै राम्रोसँग हुर्किएका छन्। बढ्दो वेदेशिक रोजगारीका कारण देशमा युवासँगै खेतबारीहरु खाली छन्।
वैदेशिक रोजगार तत्काल आर्थिक गर्जो टार्ने उपाय भएपनि यसले समाजमा पारेको प्रभाव भने डरलाग्दो छ। युवा र खाली जग्गाको सदुपयोग गरेर बहुमुल्य जडिबुटीको व्यवसायी उत्पादनका लागि यो उद्यान कोशेढुङ्गा बन्ने उपेक्षा गरिएको उनले बताए।
स्थानीय जंगल अहिले बनमाराले भरिएका छन्। त्यो मात्रै नभएर व्यक्तिगत कैयौ जग्गा पनि बाँझो पल्टिएका छन्।
उद्यान निर्माणले देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनको स्वरुप फेरिएको छ भने उद्यानमा थुप्रै बहुमुल्य प्रजातिका बिरुवाहरु उत्पादन गरेर गाउँ–गाउँमा अनुदानमा बितरण गरिएको इस्मा धुर्कोट सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राम भलामले बताए।
उद्यानको नजिकका खाली जग्गाहरुमा किसानहरुलाई अनुदानमा तेजपात, टिमुर लगायतका बिरुवा बितरण गरिएको हो। जसले स्थानीयमा नयाँ आशा जगाएको छ।
स्थानीयले जस्तो सुकै सहयोग गर्न तयार भएकाले तीनै तहका सरकारको समन्वयमा उद्यानलाई जडिबुटीको अनुसन्धान केन्द्र रुपमा विकास गर्नुपर्ने देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनका अध्यक्ष खडानन्द भण्डारीले बताए।
उद्यानको लागि आर्थिक वर्ष ०७५/०७६ मा प्रदेशबाट एक करोड विनियोजन भएको थियो। जसले तारबार, सूचना केन्द्र, मन्दिर र ट्यांकी लगायतका संरचना निर्माणका गरिएको छ। त्यस्तै आर्थिक बर्ष ०७६/०७७ मा १५ लाख विनियोजन भयो।
जुन बटेजबाट नर्सरी व्याड निर्माण, तीन व्याडमा ट्रस निर्माण र लप्सी, तेजपात र लप्सीका १३ हजार बिरुवा खरिद र उत्पादन गरेर किसानहरुलाई वितरण गरिएको देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनका कोषाध्यक्ष नारायण पैयानीले जानकारी दिए।
अहिले प्रदेश सरकारले कुनै पनि रकम निकासा गरेको छैन। प्रदेशकै पहिलो र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले नै उद्घाटन गरेको इस्मा जडिबुटी उद्यान रातो किताबमा नपर्नु आश्चर्यको विषय भएको पैयानीले बताए।
‘बजेटमा छुटाएर प्रदेशको उदेश्य पनि पूरा हुँदैन’–उनले भने–‘पक्कै मन्त्रालय र मन्त्रीको ध्यानाकर्षण हुनेछ।’ युवा शक्तिको विदेशी मोह घटाउन स्थानीय तहले कृषि र पशुका विभिन्न योजना निर्माण गरिरहेका छन्। अहिले कोरोना संक्रमणले कतिपय युवा गाउँ फर्केर के गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौल भइरहेका छन्।
बनमाराले ढाकेका कैयन जमिन खाली छन्। त्यसैले बहुमल्य प्रजातिका रुखको व्यवसायिक उत्पादनमा स्थानीय तहले युवालाई प्रोत्साहित गर्नुपर्छ।
जसका लागि उद्यानको थप वृद्धि र विकासको लागि आफुहरुले प्रदेशसँग गम्भीर रुपमा छलफल गर्ने गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए।