भैरहवा–संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले विमानस्थलको भौतिक प्रगति उपलब्धिमूलक भएको बताएका छन्।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले विमानस्थलको काम कोभिड महामारीमा पनि एक दिन पनि नरुक्नु ठूलो उपलब्धि भएको बताए।
नेपाल सरकारले २१ वटा राष्ट्रिय गौरवको आयोजना मध्ये पहिलो सम्पन्न हुने आयोजना यही विमानस्थलको हो। पर्याप्त दक्ष जनशक्ति नेपाल आउन नसक्दा समस्या भएको हो।
अहिले चीनबाट आउने ३५ जना जनशक्तिका लागि परराष्ट्र मन्त्रालयमा प्रक्रिया अघि बढाएर चीनसँग समन्वय भइरहेको उनले बताए। ‘अमेरिका, अष्ट्रिया, थाइल्याण्डबाट दक्ष जनशक्ति आउनु पर्ने पनि छन्, जसको लागि पत्राचार भइसकेको छ, प्राधिकरणबाट पनि दैनिक समन्वय र सम्पर्क भइरहेको छ, कोभिड संक्रमणले आत्तिएका छन्, केही सामान्य स्थिति भए आउँछन्, एक किसिमले सम्पन्न भएपनि केही मात्र काम बाँकी छ’–उनले भने।
मन्त्री भट्टराईले भने–‘डिसेम्बर सम्म निर्माणका सबै काम सकिन्छ, एकाध महिना विमानस्थलको सर्टिफिकेसनको काम हुन्छ, त्यसपछि विधिवत रुपमा उडान हुन्छ, लकडाउन अवधिको लगातार कामले धेरै सफलता मिलेको छ, यस्तो अवस्थामा पनि २५०–३०० कामदारले काम गर्नु कमजोरी होइन, डिसेम्बर सम्म म्याद थप भएको सो समयमा सम्पन्न हुन्छ।’
उनले सञ्चालन पछि रुटको विषयमा कुनै समस्या नरहेको बताए। ‘भैरहवामा ल्याण्ड गर्नलाई भैरहवा रुटबाट नै आउनु पर्छ भन्ने छैन, हामीले अहिले उडान गर्ने कार्यविधि जुन रुपमा भइरहेको थियो, त्यहीबाट रुटबाट हुन्छ’–नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने–भैरहवाको रुट भनेको भैरहवा र पोखरालाई सहज रुपमा होस भनेर हो, दीर्घकालीन सहजताका लागि जनकपुर, भैरहवा र महेन्द्रनगरबाट रुट प्रक्रियाका लागि कुरा भइरहेको छ। भारतको थप रुटका विषयमा आइकावासँग हाम्रो सहमति भइसकेको छ, नेपाल र भारतसँगको छलफल भइरहेको छ, प्रक्रियामै छौ।’
निरीक्षणमा मन्त्री सहित प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी प्राधिकरणका महानिर्देशक, निर्देशक प्रदिप अधिकारी, प्रमुख जिल्ला अधिकारी, रुपन्देहीका सुरक्षा प्रमुखहरु सहभागी थिए। विमानस्थलको प्रगतिबारे आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराएका थिए।
ब्रिफ्रिङमा आयोजना प्रमुख अधिकारीले भौतिक प्रगति करिब ९३ प्रतिशत भएको बताए। 'अहिले उपकरणहरु अधिकांश फिल्डमा आइसकेको छ, ल्हासामा रोकिएको उपकरण समन्वय गरेर आयोजनाको सिफरिसमा आउने प्रक्रियामा छ-उनले भने-अहिलेको मुख्य चुनौती दक्ष प्रविधिक ल्याउनु नै हो मन्त्रालयबाट पनि समन्वय भइरहेको छ, जति सक्दो छिटो ल्याउन प्रयासरत छौ । अब ५ प्रतिशत उपकरण जडान सम्बन्धिको काम र बाँकी फिनिसिङको काम हो।'
विदेशी प्राविधिक आउनु भन्दा अगावै चाहिने स्थानीय प्रविधिकको काम र फाउन्डेशनको सबै काम सम्पन्न गर्न आयोजना कसिएको छ।
अधिकारीका अनुसार बन्दाबन्दीको समयमा नै करिब साढे ४ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाको अप्ठयारो समय कटिसकेको छ। जमिन सतहबाट डेढ मिटर तलबाट कबिर १५० मिटर लम्बाईको ५० मिटर चौडाईको नयाँ ट्याक्सी वे निर्माण भएको छ।
कठिन अवस्थामा पनि नदीजन्य पदार्थ ल्याएर ठूलो काम भएको हो। यसका साथै उपकरण जडान, विद्युतीय काम, रङरोगन, फिनिसिङको काम यही अवधिमा भएको छ।