गुल्मी–गुल्मीको धुर्कोट गाउँपालिकाले किसानको गुन्द्रुक र तितौरालाई बजारसम्म पुर्याउने गरी प्रोत्साहन अभियान थालेको छ।
विशेष गरेर हिउँदे सुख्खा तरकारी लगायतका कृषि उपजहरुहरु खरिद गर्ने भएको छ। एक वा दुई खेती गरेपछि लामो समय खेतबारी बाँझो राख्ने प्रवृतिको अन्त्य गर्न गाउँपालिकाले नयाँ अभियान सञ्चालन गरेको हो।
गाउँपालिकाले किसानसँगबाट मुलाको गुन्द्रुक, चाना, मासको दाल र सेतो कर्कलाबाट बनाइएको तितौरा, सुकाएको बेसारको चाना, कोदो, मकै, बोडी, भट्ट र गहत लगायतका कृषि उपज खरिद गर्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए।
संकलित भएका कृषि उपजको बजारिकरणको लागि गाउँपालिकाले आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशिलता बुटवलसँग सम्झौता गरेको पोख्रेलले बताए।
दुवै पक्षबीच किसानहरुबाट खरिद गरिने कृषि उपजहरुको मुल्य निर्धारण गरिएको छ। पोख्रेलले अहिले मुला लगाउने बेला भएको र त्यसबाट बन्ने गुन्द्रुकको बजार मूल्य धेरै भएकाले बारीमा अधिकतम मुला लगाउन किसानहरुलाई आग्रह गरे।
मुलाको गुन्द्रुक प्रतिकिलो चार सय रुपैयाँ, मुला सुकाएको चाना प्रतिकिलो ६० रुपैयाँमा खरिद गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जानकारी दिए।
यसैगरी मासको दाल र सेतो कर्कलाबाट बनाइएको तितौरा प्रतिकिलो तीन सय ८० रुपैयाँ, बेसार सुकाएको चाना प्रतिकिलो दुई सय ८५ रुपैयाँ, गे्रडिङ गरेको मकै प्रतिकिलो ४० रुपैयाँ, खैरो भट्ट प्रतिकिलो ७० रुपैयाँ, सेतो भट्ट प्रतिकिलो ७० रुपैयाँ र खैरे गहत प्रतिकिलोको ९० रुपैयाँमा पालिकाले खरिद गरिदिने पन्थीले बताए।
जिल्लामा सबैभन्दा पहिला धुर्कोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान सुरु गरेको थियो। त्यस्तै गाउँपालिकाले बाँझो जग्गाको उपयोगलाई प्रोत्साहन गर्न सुन्तला, कागती खेती र मसलेदार खेतीमा अनुदानको व्यवस्था पनि गरेको छ।
सुन्तला र कागती लगायतका फलफुल खेती गरेबापत प्रति रोपनी तीन हजार र मसलेदार खेती गरेमा प्रति रोपनी चार हजार अनुदानको गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका उपप्रमुख शिव बहादुर केसीले जानकारी दिए।
आफुहरुको नयाँ अभियानले जग्गाको उपयोग बढ्ने, उत्पादनमा प्रोत्साहित गरेर मुला गुन्द्रुक र कर्कलाको तितौरा मार्फत गाउँपालिकाको पहिचान देशका विभिन्न शहरमा स्थापित गर्ने र किसानको अर्थोपार्जनमा टेवा पुराउने रहेको केसीले बताए।