बुटवल–कोरोना महामारी र लकडाउनका कारण रुपन्देहीको भैरहवामा रहेको पञ्चकन्या ग्रुपको उद्योग ३ महिनासम्म पूर्ण रुपमा बन्द भयो। उद्योगले फलामे छड, पाइप, किलाकाँटी लगायतका सामान उत्पादन गर्दै आएको छ। असारबाट प्लाष्टिक तर्फका उद्योग मात्र सुचारु भएका थिए। तर २० देखि ३० प्रतिशत मात्र उत्पादन भयो।
स्टील तर्फका उद्योग खुलेको एक हप्ता जति मात्र भएको पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र शाहुँले बताए। हाल उद्योगबाट आधा जति मात्र उत्पादन गरिएको उनी बताउँछन्।
उनी भन्छन्–‘लकडाउनको अवधिमा उद्योग बन्द हुँदा पनि कर्मचारीलाई पूरा तलब दियौं, १३ सय जति कामदार र कर्मचारीलाई तलब दिँदा झण्डै एक करोड खर्च भयो, त्यस बाहेक विद्युत खर्च, कर, बैंकको ब्याज लगायत हिसाब गर्ने हो भने ठूलो रकम खर्च भएको छ।’ उनका अनुसार अहिले भएको खर्च उठाउन लामो समय लाग्नेछ।
अहिले बजारमा माग कम हुँदा उद्योग पूरा क्षमतामा नचलाएको र कर्मचारीलाई आलोपालो गरेर बोलाएको उनले बताए।
उनी भन्छन्–‘उद्योग व्यवसाय क्षेत्रमा यो ठूलो संकट आइलागेको छ, यसको समाधानको उपाय अहिलेसम्म कतैबाट आएको छैन।’
ठूला उद्योगमध्येको मानिने पञ्चकन्या ग्रुपदेखि साना तथा मझौला उद्योग र व्यापार क्षेत्रलाई कोरोना भाइरसको महामारीले थला पर्नेगरी आर्थिक भार थपेको छ।
चैत ११ गतेदेखि शुरु भएको लकडाउनका कारण आममानिस घरभित्रै बसे। व्यक्ति व्यक्तिबीच भेटघाट गर्न र कार्यालय सञ्चालन गर्दा जोखिम हुनसक्ने भएकाले उद्योगधन्दादेखि व्यापार व्यवसाय पनि बन्द रहे।
साउन ७ लकडाउन अन्त्य भएपनि उद्योग व्यापार चल्नसक्ने सहज अवस्था बनेन। लकडाउनका कारण घर फर्किएका श्रमिकहरु समयमा आउन सकेनन्।
पछि फेरि समुदायस्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला स्तरमा लकडाउन शुरु भयो। लकडाउन सुरु हुनुअघि नै बजारमा चहलपहल घट्दै गएको थियो। लकडाउनपश्चात् दैनिक उपभोग्य वस्तु र औषधि उपचारजन्य क्षेत्रबाहेकका सबै क्षेत्र बन्द रहे।
उद्योगधन्दा धेरै भएका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायतका प्रदेश ५ का जिल्ला सीमावर्ती भारतसँग जोडिएका र निम्नस्तरको श्रममा भारतीय कामदार प्रयोग हुने भएकाले अझैपनि श्रमिकहरु आउन सकेका छैनन्।
असारमा लकडाउन खुकुलो भएपनि समुदायमा कोरोना भाइरस फैलिएपछि रुपन्देही लगायतका जिल्लामा पुन लकडाउन गरियो।
पछि व्यवसायीकै दबाबमा लकडाउन फेरि खुकुलो भएको छ। बजारमा पसलहरु खुलेका छन्। लकडाउन खुकुलो भएपछि पनि कतिपय व्यवसाय सञ्चालन हुन पाएका छैनन्। कतिपय क्षेत्र सञ्चालन हुन पाएपनि चल्न सकेका छैनन्। केही मात्र सामान्य तरिकाले चलेका छन्।
महामारीका कारण उद्योग व्यापार क्षेत्र थला परेको छ। नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा प्रदेश ५ का संयोजक एजाज उद्योग व्यवसाय क्षेत्र लामो सयम उठ्न नसक्नेगरी थला परेको बताउँछन्।
उनी भन्छन्–‘खाद्यान्नका उद्योगहरु चलेको भएपनि अन्य कतिपय उद्योगहरु पूरा क्षमतामा चल्न पनि सकेका छैनन, खाद्यान्न उद्योगहरु लगभग पूरा क्षमतामा चलेका छन्। त्यसमा समस्या छैन।’
उनले तत्काल उपभोग्य वस्तुका क्षेत्रबाहेकका उत्पादनमूलक उद्योगहरु राम्रोसँग चल्न नसकेको बताए।
निर्माणका सामग्री, प्लास्टिकका सामान लगायतका उत्पादन निकै कम रहेको बताउँदै आलमले यस क्षेत्रका समग्र उद्योगले २५ प्रतिशत जति मात्र उत्पादन गर्न सकेको उल्लेख गरे।
लगानी पनि बढी हुने र धेरै रोजगारदाता हुने भएकाले उद्योगहरु नचल्दा समग्र मुलुककै आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा कामदारको सीमित व्यवस्थापनका कारण उद्योगहरु पूरा रुपमा सञ्चालन हुन नसकेको बताए।
उनले भने–‘अहिले २५–३० प्रतिशत कामदार राखेर मापदण्ड पुर्याएर चलाउनुपरेको छ । पूरा समय नचल्दा उद्योगहरुलाई फाइदा हुँदैन’–उनले भने–‘पूरा समय चल्न सक्यो र धेरै उत्पादन दिन सक्यो भने मात्र उद्योग पनि फाइदामा पुग्छ।’
भारतबाट दक्ष कामदार आउन नपाउँदा पनि उद्योगधन्दा नियमित जसरी सुचारु हुन नसकेको बोहोराले बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले लकडाउन खुकुलोको निर्णयले व्यवसायीहरुलाई केही मात्रामा राहत भएपनि उद्योग व्यवसाय क्षेत्र माथि उठ्न निकै समय लाग्ने बताए।
‘केही नहुनु भन्दा बजार खोल्दा केही भएपनि राहत नै भएको छ, कोरोनाको कारण ग्राहकहरु सिमापारी जान सकेका छैनन्–उनले भने–खाद्यान्न र किराना पसलहरु चलिरहेका छन्, फेन्सी पसलहरुलाई पनि केही राहत मिलेको छ।’
पर्यटन, यातायात लगायतका कतिपय व्यवसाय धरासायी भएको हमालले बताए। रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले बजार खुलेपनि यातायातका साधन नचल्दा व्यवसाय प्रभावित भएको बताए।
‘स्थानीय भन्दापनि धेरैजसो ग्राहकहरु बाहिरी जिल्लाबाट किनमेल गर्न आउनुहुन्थ्यो, सामान लिएर जानुहुन्थ्यो–उनले भने–यातायातका साधन नचल्दा र ढुवानीको सहज व्यवस्था नहुँदा पसल खोले पनि व्यापार हुन पाएको छैन।’
कोरोना महामारीले उद्योग व्यवसाय क्षेत्र धराशायी भएपनि राज्यले नहेरेको व्यवसायीहरुले बताए। उद्योग परिसंघका प्रदेश संयोजक आलमले व्यवसाय नभएपनि कर र बैंकको व्याजमा छुट पाउन नसकेको उल्लेख गरे।
‘हामीले पहिला पनि भनिरहेका थियौं, बैंकको ब्याजलाई केही सहुलियत दिनुपर्ने, करमा पनि छुट हुनुपर्ने त्यो भएन’–उनले भने–‘व्यवसायलाई हेर्र्छौ भनेर भाषणमा अयो व्यवहारमा केही भएन।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमालले उद्योग व्यवसाय क्षेत्रमा ठूलो लगानी भएको भन्दै लकडाउनको कारण लगानी उठ्न वर्षौं लाग्ने बताए। ‘व्यवसाय क्षेत्रमा अरबौंको नोक्सान भएको छ। अहिले नै दुई चार महिनामै कोरोनाको समाधान भएपनि पहिलेको अवस्थामा आउन दुईचार वर्ष लाग्छ’–उनले भन–‘सरकारले राहत केही दिन्छ कि भनेर आश गरेको आश मात्र भयो।’
हमालले राहतको लागि बजेट भाषण र मौद्रिक नीति कुरेको भएपनि त्यसमा पनि केही नआएको बताए। उनले व्यवसायीहरुलाई बैंकले ताकेता गरिरहेको उल्लेख गरे। ‘लकडाउन अवधिको ब्याज मिनाहा गरे हुन्थ्यो, समयावधि थपे हुन्थ्यो, पुनर्कजा सहज बनाए हुन्थ्यो भन्ने हाम्रो माग हो’–उनले भने–‘तर सुनवाई भएन, व्यक्तिसँग पैसा लिएर भए पनि बैंकमा पैसा तिर्नुपर्ने अवस्था छ।’