भैरहवा–भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै रुपन्देहीको भैरहवामा प्याजको कालोबजारी शुरु भएको छ। खाद्यान्नहरुका लागि मुख्य बजार मानिने भैरहवाको गल्लामण्डीमा मंगलबार बिहान १४०० सय प्रति बोरा (१८ केजी) मा कारोबार भएको प्याजको मूल्य साँझ ५ बजे १९ सय ५० मा कारोबार भएको थियो। सो मूल्यमा बुधबार अरु वृद्धि हुने व्यवसायीहरु बताउँछन्।
भैरहवाको अस्मिता किरानाका सञ्चालक टिपी न्यौपानेले सोमबार फुटकर ६० रुपैयाँ प्रतिकिलो बिक्री गरेको प्याज अहिले ११० रुपैयाँमा बिक्री गर्ने गरेको बताए।
‘एक किलोको ५० रुपैयाँ खरिदमूल्य थियो, ६० रुपैयाँ प्रतिकिलो बेच्दै आएको थिएँ अब आफ्नै १ सय रुपैयाँ प्रतिकिलो खरिद परेको छ, ११० मा बेचिरहेको छु’–थोक बिक्रेताले एकाएक मूल्य बढाएर कालोबजारी गरिरहेको उनले बताए।
गल्लामण्डीको थोक बिक्रेताबाट खरिद गरी विभिन्न हाटबजारमा आलु, प्याज बेच्दै आएका किसान महेशले सोमबार १२५० मा खरिद गरेको प्याज मंगलबार १९५० रुपैयाँ प्रतिबोरा किन्नु परेको बताए।
‘जसरी किन्छौं त्यसैमा केही थप मुनाफा जोडेर बेच्ने काम हो हाम्रो, तर भारतले रोकेपछि प्याज आएकै छैन त्यसअघि आएर स्टक रहेको प्याज कालोबजारी गरेर एक बोरामा ७ सय रुपैयाँसम्म बढी लिइरहेका छन्, अनुगमन निगरानी कसले गर्ने ?’–उनी प्रश्न गर्छन्।
आलु, प्याजको आयातकर्ता मोहन बानियाँले भारत सरकारले गरेको अकस्मात प्याज निर्यातको प्रतिबन्धका विषयमा नेपाल सरकारले पनि केही बोल्नु पर्ने बताउँछन्। सधै भारतकै प्याजको भरमा आश्रित नेपालीहरुका लागि यसरी अचानक बन्देज लगाउनु जायज नभएको उनले बताए।
‘एक महिनाअघि भारतमा १०–१२ भारतीय रुपैयाँ प्रतिकिलोमा खरिद गरेको प्याज हाल ४०–४५ भारुमा खरिद गरिरहेका थियौं, सोमबारदेखि भारतले निर्यातमा बन्देज लगाएपछि आएको ३ ट्रक प्याज पनि भारतीय भन्सारले रोकेको छ, निर्यातमा बन्देज लगाएको पहिला जानकारी थिएन, अर्डर गरेर मगाइहालियो कुहिने सामान हो, नेपाल आउन नसके मालबाहक गाडीमै कुहिन्छ’आयातकर्ता बानियाँले भने।
रुपन्देहीमा सय भन्दा बढी व्यवसायीले प्याज आयात गर्छन्, अहिले सबैको प्याज भारततिर रोकिएको छ।
‘प्याजमा नेपाल भारतमै निर्भर छ अन्य मुलुकमा बन्देज लगाएपनि सधै नेपालले भारतबाट नै आयात गरेकोले बन्देज खोल्नु पर्छ यसका लागि भारतीय पक्षसँग नेपाल सरकारले कुरा गर्नुपर्छ’–उनले भने।
मुख्यतः नेपालका लागि भारतको मध्यप्रदेश, महाराष्ट्रबाट प्याज आउँथ्यो। बाढी आएर प्याज खेतीमा असर गरेकाले बजारमा अभाव छ र मूल्य बढेको छ। पछिल्लो हप्ता भारतमै प्रतिकिलो २० देखी २५ रुपैया मुल्यवृद्धि भएको थियो। बन्देज लगाएपछि अहिले भारतीय बजारमा एककिलोमा ५–१० रुपैयाँसम्म घटेको छ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य प्रसाद लम्सालले सोमबार अबेर सम्म भैरहवा भन्सार नाकाबाट प्याज आयात भएपनि मंगलबार कुनै मालबाहक प्याजका गाडी नेपाल नआएको बताए। ‘आयात भए विषादी परिक्षणका लागि नमूना संकलन गरी पठाउने गरेका थियौ, मंगलबार कुनै पनि नमूना परिक्षणका लागि गएको छैन’–उनले भने।
दैनिक १० देखि १५ ट्रक प्याज भैरहवा भन्सारबाट पास हुन्थ्यो। व्यवसायीले प्याज ल्याउँदा पूरानै मूल्यमा भन्सार गराइरहेका थिए।
भन्सारमा व्यवसायीले ल्याउने दररेट पूरानै उल्लेख छ र भन्सार दर पनि बढेको छैन तर व्यवसायीले महामारीको संकटको बेला मनपरी मूल्यवृद्धि गरेका छन्।
पूरानै मूल्यमा ल्याएर गोदाममा राखेको प्याजको मूल्यवृद्धि गर्दापनि सरोकारवाला मौन छन्। भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले माैजदातमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेपनि नियमन गर्ने निकाय माैन छ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, व्यवसायीहरुकाे संघ सस्था उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठनले यस विषयमा अनुगमन गरेका छैनन्। जसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ।