बुटवल-बजारमा उपभोक्ता हीत विपरितका अराजकता नियन्त्रणका लागि भन्दै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
पछिल्लो समयमा तरकारीजन्य र खाद्यान्नका सामानमा अस्वभाविक मूल्य बढाएको गुनासो आइरहेका बेलामा उपमहानगरका अनुगमन गरेको हो । बुटवल उपमहानगरपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५ जारी गर्दै बजार अनुगमनका कामलाई व्यवस्थि गर्दै आएको छ ।
बुटवल उपमहानगरपालिकाको अनुगमन तथा उपभोत्ता हित संरक्षण समितिले बुटवलका खाद्यान्न एवम् किरानाका पसलहरुको अनुगमन गर्दै उपभोक्ता हीत विपरितको कारोबार गरेको पाइएका केही पसललाई बन्द गराएको छ ।
अनुगमनमा किराना पसलहरुमा लेवल विनाका अखाद्य बस्तुहरु बिक्री भएको र अस्वभाविक रुपमा मूल्य बढाएको पाइएको अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् । उनले अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हित विपरीत भएका काम रोक्ने बताइन् ।
बुटवलको कान्ति स्कुल परिसरमा रहेको गोपीकृष्ण किराना, बुटवल संगमपथमा रहेको लालाजी किराना तथा बुटवल–६ स्थित कृषि उपज केन्द्रमा रहेका आशिल आलु भण्डार र इधान सप्लायर्समा उपभोक्ता हीत विपरितका कारोबार गरेको पाइएको अनुमगन टोलीले बताएको छ ।
व्यापारीले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको आचार्यले बताइन् । किराना पसलहरुमा प्याजको खरिद मूल्य ४५ रुपैयाँ पाइएको र त्यसैको बिक्री मूल्य प्रतिकिलो एक सय २० रुपैयाँ सम्म लिएको पाइएको अनुमगन संयोजक आचार्यले बताइन् ।
ती सबै पसलहरुलाई बन्द गराइएको र थप कारबाहीका लागि मातहतका निकायमा सिफारिस गरिएको छ । लेवल नलगाएका विभिन्न उपभोग्य सामान अनुगमन समितिले जफत गरी नष्ट गर्ने भएको छ । यसअघि अनुगमन समितिले काजु, किसमिस, बदाम, ओखरको घाझि, चना लगाएका सामानहरु लेवल नलगाइ विक्रि गरेको भेटाएपछि नष्ट गरेको थियो ।
अनुगमनका क्रममा जफत गरिएका सामानहरुलाई प्राविधिकहरुको थप परीक्षण पछि नष्ट गरिने बुटवल उपमहानगरका अनुगमन शाखा प्रमुख टोपलाल शर्माले बताए ।
अनुगमनमा उपप्रमुख आचार्यसंगै उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यालय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंक पराजुली, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, ईलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रशासन कार्यालयका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।