धनुषा-कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको हो।
जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।
भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउन लागिएको रेल विभागका महानिर्देशक मिश्रले बताए। कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ ।
दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनको भनाइ छ । उनले भने-, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ। भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो।
लामो समय देखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीय उत्साहित भएका छन्।
झण्डै दुई वर्ष देखि रेल आउने भनेपनि आएको थिएन तर अब जयनगर सम्म रेल आइसकेकोले अब रेल सञ्चालनमा आउने स्थानीय विश्वस्त भएका छन्।
रेल विभागले रेल संचालनको लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारीको माग गरेको छ ।