बुटवल-भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको कालोबजारी शुरु भएको छ। व्यापारीले मनपरी मूल्य लिन थालेका छन्। भारतले प्रतिबन्ध लगाउनुअघि नै ल्याएर गोदाममा राखेको प्याजको मूल्य ११० रुपैयाँ प्रतिकिलोदेखि १३० रुपैयाँ प्रतिकिलोसम्ममा व्यापारीले बिक्री गरिरहेका छन्।
अघिल्लो वर्ष पनि भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको अभाव भएको थियो।
वर्षेनी अभाव हुने र कालोबजारी हुने प्याजमा नेपाल परनिर्भर छ। अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा नेपालमा ४ अर्ब २२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको विदेशी प्याज आयात भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा १० करोड ६८ लाख ३५ हजार २२ सय केजी प्याज आयात भएको छ।
यसको अर्थ नेपालमा प्याजको व्यवसायिक खेती हुन सकेको छैन। नेपाली बजारको मागलाई धान्नेसम्मको उत्पादन नहुँदा नेपाल प्याजमा परनिर्भर हुनुपरेको छ। नेपालमा भारत र चीनबाट सबैभन्दा धेरै प्याज आउँछ।
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे अधिकांश नेपाली किसानले आफूलाई खान मात्र थोरै फलाउने गरेको र केही ठाउँका किसानले बेच्न खोजे पनि बजारको मागअनुसार नपुगेका कारण अझैसम्म मुलुक प्याजमा परनिर्भर रहेको बताउँछन्।
गत आर्थिक वर्षमा भारतबाट मात्रै १० करोड ७ लाख ७१ हजार ६ सय ९५ केजी केजी प्याज आयात भएको छ। सोही अवधिमा नेपालले भारतबाट मात्र कुल ३ अर्ब ८० करोड ९२ हजार रुपैयाँको प्याज आयात गरेको छ।
चीनबाट ६६ लाख ३३ हजार २७ केजी प्याज आयात गर्न कुल ४२ करोड ४६ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ। त्यसैगरी, चालू आर्थिक वर्षको पहिलो महिना गत साउनमा मात्र ६२ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ५७ हजार २ सय ८३ केजी प्याज आयात भएको भन्सार विभागले जनाएको छ।