बुटवल–बुटवल उद्योग वाणिज्य संघको २४सौं अधिवेशन तथा ६४ औं साधारण सभा असोज २८, २९ र ३० गतेको लागि तोकिएको छ। अधिवेशन गर्न निर्वाचन समिति र अन्य तयारी समितिहरु पनि गठन गरिएको छ।
तर तोकिएको समयमा अधिवेशन नहुने निश्चित जस्तै छ। लुम्बिनी टाइम्ससँग कुरा गर्दै वर्तमान पदाधिकारी तथा पूर्व अध्यक्षले अधिवेशन सर्ने निश्चित भएको बताएका छन्।
संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले साधारण सभा र नेतृत्व चयन दुबै भएकाले अधिवेशन हुन सक्ने सम्भावना कम भएको बताए।
‘साधारण सभा मात्र भए त भर्चुअल विधिबाट गर्न पनि सकिन्थ्यो, अधिवेशन हुँदा अलि गाह्रो हुने भयो’–उनले भने ‘चुनाब हुने भएपछि सबैलाई चासो हुन्छ, परम्परागत भन्दा अन्य विधिबाट चुनाब गर्न सकिन्न।’
यदि सहमतिमा नेतृत्व चयन हुने अवस्था आएमा अधिवेशन सम्भव छ त ? उपाध्यक्ष अर्याल भन्छन्–‘पूर्व अध्यक्षहरुले प्रयास गरेमा सहमति हुन सक्छ जस्तो लाग्छ, यो परिस्थितिमा सहमति गरेर जाउँ भनेर उहाँहरुले भन्नुभयो भने हामी कार्यसमिति सदस्यहरुले मान्छौं।’
पदाधिकारी तहमा सहमति भएपनि कार्यसमितिमा चुनाब हुनसक्ने अर्यालको भनाइ छ। ‘अहिले अलि संकटको बेला जस्तो छ, पदाधिकारीमा सहमति गर्न सजिलै छ, तर कार्यसमिति सदस्यमा अलि गाह्रो हुन सक्छ’–उनले भने–‘बाहिर रहनुभएकाहरु धेरै कार्यसमितिमा आउन खोज्नुहुन्छ।’
बुटवल उद्योग वाणिज्य संघको अघिल्ला अधिवेशनहरुमा कांग्रेस र कम्युनिष्ट समर्थित दलगत प्यानल बनेको थियो। तर उद्योग वाणिज्य संघमा कांग्रेस समर्थित व्यवसायीहरुकै वर्चस्व रहेकाले कांग्रेसनिकट व्यवसायीहरुले नै चुनाब जित्दै आएका छन्।
चुनाब नै भएमा संघमा राजनीति हाबी हुने बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ बताउँछन्। ‘सहमतिमा नेतृत्व चयन असम्भव त होइन, तर चुनाब भयो भने राजनीति हाबी हुन्छ, जित्ने निश्चित नभएपनि राजनीतिक दलका नेताले उमेद्वार उठाइदिन्छन्’–उनले भने–‘त्यसैले सर्वसम्मत नेतृत्व चयन अलि गाह्रो देखिन्छ, चुनाबै हुने भयो भने त अधिवेशन सर्छ।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले पनि अधिवेशनको मिति सर्ने बताए। ‘विधानअनुसार कार्यसमितिको म्याद असोजको अन्तिमसम्म मात्रै हो, तर चुनाब सर्छ’–उनले भने–‘लकडाउन खुकुलो भएपनि सभा, सम्मेलन गर्न पाएको अवस्था छैन, केन्द्रमा उद्योग वाणिज्य महासंघको अधिवेशन पनि सरिरहेको छ, यहाँको पनि सर्छ।’
असोजमा अधिवेशन नहुने निश्चित भएपनि मिति किन तोकियो त ?
संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सुरेन्द्र श्रेष्ठ भन्छन्–‘विधान अनुसार कार्यकाल सकिने बेलामा मिति तोक्नै पर्छ, अधिवेशनको समय सार्न पनि विधानअनुसार मिति तोकेरै सार्नुपर्छ, तय भएको मितिमा अधिवेशन हुन नसक्ने अवस्था आएमा कार्यसमितिले निर्णय गरेर अर्को मिति तोक्न सक्छ।’