गुल्मी–गुल्मी छत्रकोट ४ का कृष्ण प्रसाद पन्थ तम्घास–बुटवल सडकखण्डको श्रृंगामा बस्छन्।
उनको घरको पिँढीदेखि सडकसम्म तरकारी थुप्रिएको छ। उनी व्यवसायिक खेती गर्ने व्यक्ति होइनन्, न त उनको यो स्थायी व्यवसाय हो।
उनले कोरोना संक्रमणले किसानका बारीमा कुहिन थालेका तरकारी संकलन गर्न थाले। बुटवलका व्यापारीसँग सिधा सम्पर्क राखे। अहिले यो काम पन्थलाई निकै शुभेको छ।
स्थानीयले घर–घरमा उत्पादन भएका तरकारी र फलफुल आफैले बोकेर पन्थकोमा ल्याउँछन्। एक दिन बिराएर एक गाडी तरकारी र फलफुल बुटवल पुराउँछन्। उनले १६ वर्ष त दुबईमा काम गरे। तीन वर्ष भए परदेश नगएको। भारत र तेस्रो मुलुकमा उर्जाशील उमेर बिताएका पन्थले अहिले गाउँमै फेन्सी र कृषि कर्म थालेका छन्।
अस्थायी मौसमी व्यापारले मात्रै पनि पन्थले राम्रो आम्दानी गरेका छन्। उनकै कारण बिहान गाउँको बारीमा टिपेको तरकारी साँझ बुटवलका मण्डीहरुमा पुग्ने गरेको छ।
पन्थले गाउँका काँक्रा, फर्सी, भुइँकटर, रुख कटहर, सोस्ता, गोपी, टमाटर, इसकुस, अकवरे खुर्सानीलगायतका कृषि उत्पादनहरु संकलन गर्दै आएका छन्।
उनले स्थानीयहरुसँग काँक्रा प्रतिकिलो १८, फर्सी ७, इसकुस १२, भुइँकटर ४० रुपैयाँमा खरिद गर्छन्। काँक्रा प्रतिकिलो २५, फर्सी १०, इसकुस २०, भुइँकटर ६० रुपैयाँमा बुटवल बिक्री हुने गरेको पन्थ बताउँछन्।
त्यस्तै सोस्ता ४० रुपैयाँमा खरीद गरेर ६० सम्म र रुख कटहर पाकेको तथा काँचो २५ रुपैयाँसम्म बुटवल बिक्री हुने गरेको छ। उनको मुख्य व्यापार फेन्सी हो। तरकारी संकलनको काम थालेका चार महिना मात्रै भए।
पन्थले अहिलेसम्म सबैभन्दा बढी काँक्रा, सोस्ता, भुइँ र रुख कटहर बुटवल बिक्री गरे। उनले चार महिनामा करीब तीन सय क्विन्टल काँक्रा, ढाई सय क्विन्टल सोस्ता, भुईँकटर पाँच सय बढि पिस र साढे ४ सय पिस रुख कटहर बिक्री भएको बताए।
अहिले गाउँमा काँक्रा, फर्सी, इसकुस, भाण्टा, खुर्सानी लगायतका तरकारी अत्यधिक उत्पादन भएका छन्। दिगामकी दिलमाया रजालीले विभिन्न जातका तरकारी लिएर श्रृंगा आउने गरेकी छन्।
कोरोना संक्रमणको कारण तरकारी बिक्री गर्न नपाउँदा किसान समस्या थिए। तर पन्थले लकडाउन अवधिमा पनि गाउँको उत्पादन संकलन गरेर बिक्री गरिदिएपछि स्थानीय कृषक पनि खुसी छन्।
अहिले पनि पन्थको बारीमा ढाई/तीन लाखको गोबी तयार हुँदैछ। तीन वटा टनेलमा टमाटर खेती गरेका छन्। केहीबेर समय दिएपनि राम्रै आम्दानी हुने भएकाले पन्थ खुसी छन्।
अहिले चार महिनामा मात्रै आठदेखि १० लाखको तरकारी संकलन गरेर बिक्री गरेका पन्थले करिव दुई लाख नाफा कमाएको बताए। ‘गाउँमा खोज्ने र बजारमा बेच्ने कुनै झञ्झट भएन मैले समय मात्रै व्यवस्थापन गरे,–उनले भने,‘मसंगै कृषकहरु खुसी छन्।’