भैरहवा–चैतको दोस्रो साताबाट रुपन्देहीको बेलहिया नाकाबाट आवतजावतमा रोक लागेपछि नेपाल तर्फको बजारमा व्यापार बढेको छ।
विश्वव्यापी कोभिड–१९ महामारीले सीमा क्षेत्रका नागरिक सामान किन्न भारतीय भूमिमा नगएपछि नेपाली बजारमा उपभोक्ताको आकर्षण बढेको हो। साथसाथै प्रदेश ५ सरकारले चाडबाडमा भारतीय बजारमा जानेआउने गतिविधिमा रोक लगाएपछि सीमाक्षेत्रका बजारका व्यवसायी उत्साहित भएका छन्।
मुलुककै दोस्रो ठूलो र प्रदेश ५ को ठूलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयबाट निरन्तर सामान आयात निर्यात भएपनि सर्वसाधारणका लागि आवतजावतमा रोक लगाइएको छ। कोरोना महामारीका कारण भारतबाट हुने किनमेल रोकिएपछि नेपाली बजारमा उपभोक्ताको भीड बढेको छ।
दशैं–तिहार नजिकिँदै गएकाले पनि बजारमा उपभोक्ताको चहलपहलमा वृद्धि भएको छ। अघिल्ला वर्ष चाडवाडका बेला सयौँ सर्वसाधारण दैनिक उपभोग्य सामान किन्न भारतको सुनौली, नौतनवा गोरखपुरसम्म पुग्ने गर्दथे। ६ महिना यता आवतजावतमा बन्देज लगाएपछि सो क्रम रोकिएको छ।
यसबाट दैनिक लाखौँ नेपाली रुपैया भारत जाने क्रम रोकिएको छ। उपभोग्य लगायतका सामानका लागि सो रकम नेपालमै खर्चिएको छ।
बुटवल, भैरहवा लगायतका क्षेत्रमा सीमापारीबाटै आएका दैनिक उपभोग्य सामान बढी बिक्री हुन्थ्यो, सर्वसाधरणको माग पनि आयातित सामान नै हुन्थ्यो।
लकडाउन भएपछि नेपालमै उत्पादित वस्तुहरुको बिक्री बढेको भैरहवा गल्लामण्डीका किरानाका सञ्चालक माजुले बताए।
‘सामानका नाम भनेर यो चाहियो भन्नेले पनि अहिले जे छ त्यही दिनुस् भनेर सामान किनिरहेका छन्–उनले भने –सीमापारिबाट क्यारियरवालाले पहिला पसलमै सामान ल्याएर दिन्थे, नाका बन्द भएदेखि भारतीय सामान आउन ठप्प भयो।’
अहिले स्वदेशी वस्तुहरु नै बिक्री भइरहेको र पहिला भन्दा व्यापार पनि बढेको माजुको भनाइ छ।
पछिल्लो समय नेपाली उत्पादकर्ताहरुले माग अनुसारको सामान बजारमा पठाउन समेत हम्मे हम्मे भएको छ।
‘पहिला खपत कम थियो अहिले ग्राहकहरु सिमापारी जान नपाएपछि हाम्रो उत्पादनको खपत पनि बढी भएको छ–पूजा प्याकेजिङका सञ्चालक राजेश कसौधनले भने–‘भारतबाट मसलाहरु आउथ्यो, हाम्रो उत्पादित मसला पहाडतिर पठाउथ्यौ तर अहिले यहीँको बजारमा माग बढेको छ।’
अहिले नेपाली बजारमा मसला, तेल, दलहन, बिस्कुट लगायतका सामान स्वदेशी उत्पादन नै बिक्री भइरहेको छ।
स्वदेशी उत्पादन गुणस्तर हुँदाहुँदै पनि भारतीय सस्ता उत्पादनले नेपाली सामग्री बिक्री हुदैनथे। अहिले नेपाली उत्पादनले नै बजार पाएको भाटभटेनी सुपरस्टोरका प्रबन्धक विनोद भट्टराईले बताए।
‘हामीले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिई बिक्री वितरण गरिरहेका छौ, सिमापारिका खाद्यान्न वस्तु भन्दा स्वदेशी उत्पादित वस्तुको बिक्री बढेको छ’–उनले लुम्बिनी टाइम्ससँग भने–‘नेपाली किसानको उत्पादनले पनि बजार पाएको छ।’
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले सीमा बन्दका कारण नेपाली उद्योग र व्यापार दुवै क्षेत्रले बजार पाएको बताए।
‘यसले मुलुकको व्यापार घाटा कम गराउन मद्दत पुगेको छ। हाम्रो संगठनको नारा पनि व्यापार घाटा कम गराउँ भन्ने हो–उनले भने–महामारीका कारण सीमा बन्द गरिएपछि त्यसको सकारात्मक असर नेपाली उत्पादनको खपतमा देखिएको छ, भारत गएर खर्चिने पैसा सीमा क्षेत्रको बजारमा नै खर्च हुदैछ।’
नेपालमै उत्पादित सामान उपभोक्ताले प्रयोग गरिरहेकाकाले समग्र राष्ट्रको अर्थतन्त्रमा टेवा पुगेको भण्डारीको भनाइ छ।
अवैध बाटोबाट सामानहरुको आयात र तस्करीले नेपाली वस्तुहरु भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका थिएनन्। सीमा खुलेपनि अब अवैध कारोबारलाई रोक्नु पर्ने स्थानीय व्यवसायीहरुको भनाइ छ। व्यवसायीले बन्द सीमाबाट राहत अनुभूति गरेपनि भारतीय पर्यटक नआउदा पर्यटन व्यवसाय भने प्रभावित बनेको छ।