भैरहवा–कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउन र यसको असरले हरेक क्षेत्रमा प्रभाव पारेपनि विकास निर्माणका काममा खासै प्रभाव पारेको छैन।
लुम्बिनीमा वर्षौदेखि हुन नसकेको लुम्बिनी विकास कोषको बाँकी गुरुयोजनाको डिपीआर, मायादेवी मन्दिर प्रवेश मूलमार्ग ५ नम्बर द्वारको ब्रीक लेन र सौन्दर्यीकरण लगायतका डिजाइनको काम बन्दाबन्दी र निषेधाज्ञाको दौरानमै सम्पन्न भयो।
त्यस्तै निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पनि बन्दाबन्दीको समयमा करिब साढे ४ प्रतिशत भौतिक प्रगति भएको छ। नदीजन्य पदार्थ अभावको बेला लकडाउनको अवधिमा खोलाबाट नदीजन्य पदार्थ निकालेर विमानस्थलमा नयाँ ट्याक्सी वे निर्माण भयो।
कठिन परिस्थितिमा पनि जमिन सतहबाट डेढ मिटर तलबाट करिब १५० मिटर लम्बाईको ५० मिटर चौडाईको नयाँ ट्याक्सी वेको निर्माण लकडाउन अवधिमै भयो।
यसका साथै उपकरण जडान, विद्युतीय काम, रंङरोगन, फिनिसिङ सहितको अप्ठयारा काम विमानस्थल आयोजनाले यही अवधिमै सम्पन्न गर्यो।
यी दुई त उदाहरण मात्र हुन्, यस्ता आयोजना सहित निजी निर्माणका कामहरु देशभर भइरहे।
बन्दाबन्दी र निषेधाज्ञाले आम सर्वसाधारणमा प्रभाव पारेपनि आयोजना तथा विकास निर्माणको कामका लागि फलिफाप साबित भएको छ।
महामारीकै मौकामा बढी चाप हुने व्यस्त ठाउँमा समेत सर्वसाधारणको न्यून चहलपहलले विकासका काम गर्न सहज बनाएपनि भैरहवा स्थित छ लेन अन्तर्गत भत्किएका सडक मर्मत हुन सकेन।
आयोजना सम्पन्न नहुदै ३ वर्ष देखि मर्मतको पर्खाइमा रहेको बेलहिया–बुटवल ६ लेन भैरहवा बसपार्क क्षेत्रको सडक बजेट अभाव, योजना प्रमुखहरुको अस्थिरता र मर्मत स्वीकृतीमा ढिलाईको कारण मर्मतको प्रतिक्षामा रह्यो।
सडक मर्मतका लागि २०७६/०७७ मा पहिलो पटक ९० लाख बजेट विनियोजन भएपनि हाल सम्म मर्मत हुन सकेको छैन। टेण्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट भई चैतको पहिलो साताबाट मर्मतको काम सुरु हुन्छ भनेको आयोजानले असोज लाग्दा समेत मर्मत तर्फ चासो दिएको छैन। ६ लेन सडकमा घाँस उम्रेको छ।
झण्डै ६ अर्बकोे लगानीमा निर्माणधीन बेलहिया–बुटवल व्यापारिक मार्ग, राष्ट्रिय गौरव आयोजना अन्तर्गतको सडक हो। भैरहवा बसपार्क क्षेत्रको सडक २०६८ सालमा सम्झौता भई निर्माण प्रक्रियामा गएको थियो।
शर्मा दिवा द कन्चनजङ्गा जेभीले २०७१ सालमा निर्माण सम्पन्न गरेको उक्त क्षेत्रको सडक सम्झौता अनुसार एक वर्ष सम्म (२०७२) साल सम्म निर्माण कम्पनीले मर्मत गर्नु पर्ने र त्यसपछि बिग्रे भत्केका सडक आयोजनाले मर्मत गर्नु पर्ने हुन्छ। तर २०७२ पछि बिग्रिन थालेको उक्त सडक क्षेत्रको मर्मत न त आयोजनाले गर्यो न अन्य कुनै निकायले।
वर्षौदेखि मर्मतको प्रतिक्षामा रहेको सडकको अवस्था भासिएर कुरुप बन्दै गएको छ। ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गाडी हाँक्न सक्ने क्षमतामा निर्मित सडकमा अहिले सयौ खाल्डाखुल्डी परेका छन्।
लापरबाहीका कारण अल्प समयमै सडक जीर्ण बन्दै गएकोे छ। निर्माण पूरा भएका केही सडक भत्किदा पनि सरोकारवाला निकाय मौन हुँदा यसको प्रत्यक्ष असर सर्वसाधारण, चालक र सवारी साधनहरुले खेप्नु परेको छ।
६ लेन सडक कालोपत्रे गरिएपनि समयमा मर्मत नगरिएकोले जीर्ण बन्दै गइरहेको छ। दैनिक हजारौ गाडी कुद्ने सडक अहिले ६ महिनादेखि सुनसान सरह हुदा समेत मर्मत हुन सकेन।
निर्माणको जिम्मा पाएको कम्पनी शर्मा दिवा कन्चनजङ्गा जेभीका इन्जिनियर नवीन शर्माले सडक निर्माणमा कुनै पनि कमजोरी नभएको दाबी गरे।
‘हामीले सडक निर्माण भएको एक वर्षभित्र सडकमा केही क्षति, बिग्रे भत्केको भए बनाउने सम्झौता थियो, निर्माण सम्पन्न पश्चात ल्याबबाट गुणस्तर परिक्षण गरी आयोजनालाई हस्तान्तरण गरेका थियौ, सडकको क्षमता भन्दा बढी भार बोकेका सवारी साधनहरु गुड्दा सडक बिग्रिएको हो, ठूला मालबाहक गाडीहरु मिडियनबाट लगातार रुपमा गुड्दा र समयमै परियोजनाले सडकहरु मर्मत नगर्दा ठाउँ–ठाउँमा खाल्टाहरु बनेको छ’–उनले भने।
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले ५० टन क्षमता भार सहन सक्ने मापदण्डमा बनेको सडकमा क्षमता भन्दा अधिक भारका गाडी गुडाएकोले सडक भत्केको जानकारी दिएको छ।
‘ठेक्का सकिएको ६ वर्ष पुग्न लाग्दा पनि हाल सम्म योजनाले सडक मर्मत गरेको छैन, पहिलो पटक बजेट छुट्याएर मर्मतको काम सुरु भएको छ’–आयोजनाकी इन्जिनियर सुभेक्षा सारुले भनिन्–मर्मतको काम सुरु भएको छ।’
टेण्डर प्रक्रियाबाट ८० लाखमा आर एण्ड आर सिभिल कन्स्ट्रक्शनले मर्मतको काम गरिरहेको छ। बेलहिया बुटवल सडक खण्डको बिग्रिएका सबै सडक मर्मत गर्न करिब २ करोड लाग्ने अनुमान छ, बाँकी सडक मर्मतको लागि टेण्डर प्रक्रियामा रहेको इन्जिनियर सारुले भनिन्।
हालसम्म ६–७ जना आयोजना प्रमुखहरुले आयोजना हेर्नु, प्रमुखहरु धेरै समय नटिक्नु, एउटा आयोजना प्रमुखको काम अर्को आयोजना प्रमुखले चासो नदिनु, र बजेट अभावका कारणले पनि समयमा सडक मर्मत हुन नसकेको सरोकारवाला बताउँछन्।
२४ किलोमिटर सडक ३ वर्षमा पूरा गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको भएपनि ९ वटा निर्माण कम्पनिले विभिन्न प्याकेजमा निर्माण सम्पन्न गर्ने योजना ९ वर्ष वितिसक्दा पनि पूरा हुन सकेको छैन।
१०.४० मिटर चौडाईको ४ लेन सडक, सडकको दायाबाया ६ मिटर चौडाईको सर्भिस लेन, बीचमा ग्रीन जोन र डिभाइडरहरु सहितको सडक निर्माणको अन्तिम चरणमा छ। पटक पटक म्याद थप सहित निर्माणको अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्र ( निर्माण सम्पन्न हुने कार्यालयको दाबी छ।
अहिले बेलहिया बाइपासदेखि भन्सार सम्मको सडक र बुटवलतर्फ (राजमार्ग चौराहा–चिडियाखोला) को सडक विस्तार कार्य बाँकी छ।
ओभरलोडका गाडीलाई सीमा विन्दुमै लोड मिलान गरी प्रवेश दिएमा वा सडक बनाउदा नै सरकारले त्यही स्तरको अत्याधुनिक सडक बनाए सडक भत्किने समस्या नआउने सरोकारवाला बताउँछन्। ६ अर्ब खर्चिएर बनेको सडक सम्पन्न भएर हस्तान्तरण नहुदै भत्किएको छ।