बुटवल–बुद्धजन्मस्थल लुम्बिनीमा दशैंपछि केही चहलपहल बढेको छ।
कोरोना महामारी र लकडाउनको कारण लामो समय सुनसान रहेको लुम्बिनीमा अहिले आन्तरिक पर्यटकहरु देखिन थालेका छन्।
पछिल्लो समय दशैंको मौकामा घुमघाम गर्ने चलन बढेको छ। यस्तो घुमघामको लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य हो।
विगतका वर्षमा दशैंपछि लुम्बिनीमा आन्तरिक पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो। कोरोना महामारीका कारण भिडभाड नभएपनि घुम्न आउने क्रम केही बढेकोे लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए। ‘दशैंपछि हल्का चहलपहल बढेको छ। घुम्ने मान्छे अलिअलि आइराखेका छन्’–उनले भने।
कोरोना संक्रमणको कारण गरिएको लकडाउनसँगै सरकारले मठमन्दिरहरु प्रवेशमा रोक लगाएको थियो । यो निर्णयसँगै लुम्बिनी परिसरमा पनि प्रवेश निषेध गरिएको थियो। असोजबाट लकडाउन र निषेधाज्ञा हटेपनि मठ मन्दिरहरु खुल्ला गरिएको छैन।
तर लकडाउन हटेसँगै फाट्टफुट्ट मानिसहरु लुम्बिनी आउन थालेका छन्। कतिपय लुम्बिनी परिसरमा नै छिर्न नपाइकन फर्किएका थिए। कोही सुरक्षाकर्मी तथा कोषका कर्मचारीसँग अनुरोध गरेर मायादेवी मन्दिरको गेट सम्म पुगेर फर्कने गरेका छन्।
‘लुम्बिनी आउनुभएका मध्ये कोही बन्द छ भनेपछि बाहिरबाटै फर्केर जानुहुन्छ’ कोषका सूचना अधिकारी बस्नेतले भने ‘कतिपय मायादेवी मन्दिरको गेटसम्म पुगेर, शान्तिदीप लिटल बुद्ध लगायतका ठाउँ घुम्ने गर्नुभएको छ।’
पर्यटकहरु लुम्बिनी आएपछि लुम्बिनीका होटल रेष्टुरेण्टहरुमा पनि चहलपहल बढेको व्यवसायीहरु बताउँछन्।
लुम्बिनी स्थित इगनाइट लाउन्ज एण्ड रेष्टुरेण्टका सञ्चालक शिखर पन्तले दशैंको समयमा काठमाडौं, चितवन लगायतका ठाउँबाट पनि आन्तरिक पर्यटकहरु घुम्न आएको बताए। ‘रुपन्देही र आसपासका मान्छेहरु घुम्न भनेर अलि आइरहेका छन्। कोजाग्रत पूर्णिमाअघि काठमाडौ र चितवनबाट पनि केही निजी गाडीमा घुम्न आएका थिए’–उनले भने।
लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले लुम्बिनीमा चहलपहल देखिएको भएपनि बास बस्ने गरी कोही नआएको बताए।
‘बास बस्ने गरी आएका पर्यटकको होटल संघमा रेकर्ड राख्ने निर्णय गरेका छौं । कोही संक्रमित भएपनि सतर्कता अपनाउन सहजता होस भनेर यसो गरिएको हो’–उनले भने–‘तर होटलमा त्यसरी बास बसेको रेकर्ड छैन। टाढाबाट कोही आएपनि दिउँसो आएर उतिखेरै फर्किने गरेका छन्।’
शर्माले मायादेवी मन्दिर नखोलिकन लुम्बिनीको पर्यटन अघि नबढ्ने बताए। उनले मन्दिर खोल्न कोष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको भएपनि सुनुवाई नभएको उल्लेख गरे।
‘लुम्बिनी विकास कोषले नेपाल सरकारले निर्णय गर्ने बित्तिकै हामीले खोलीहाल्छौं भनेको छ। पर्यटन मन्त्रीले पनि त्यही भन्नुहुन्छ’–शर्माले भने–‘अब पर्यटन क्षेत्रलाई बामे सार्नुपर्छ। अब लुम्बिनीको पर्यटनलाई बन्दी बनाइराख्न हुँदैन । मायादेवी मन्दिर खोलेर पर्यटकीय गतिविधि हुन दिनुपर्छ।’
शर्माले सुरक्षाका उपाय अपनाएर दिनमा केही समय भएपनि मन्दिर खोल्नुपर्ने र व्यवसायीहरुले पनि सुरक्षित तरिकाले सेवा दिन तयार भएको उल्लेख गरे।
आएका आन्तरिक पर्यटकहरु लुम्बिनी परिसर प्रवेश गर्न त पाउँछन। तर मायादेबी मन्दिरको गेटबाट भित्र जान पाउँदैनन्।
अब मायादेवी मन्दिर परिसर पनि खुल्ला गर्ने कि भन्ने बारेमा छलफल भइरहेको कोषका सूचना अधिकारी बस्नेतको भनाइ छ।
‘पर्यटकको लागि मायादेवी मन्दिर परिसरको गेट खोल्ने कि भन्ने बारे कोषमा छलफल भइरहेको छ। तर निर्णय भएको छैन’–उनले भने ‘यसो भएमा मन्दिर भित्र तत्काल प्रवेश गर्न पाइन्न। तर बाहिरका अशोक स्तम्भ, पोखरी लगायतका ठाउँमा अवलोकन गर्न सकिन्छ।’