बुटवल–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल पूर्वका २० मिटर भन्दा साना पुलहरु भत्काइने भएको छ ।
पुल भत्काइने भएपछि सवारी साधन ओहोर दोहोर गराउन नजिकै ह्युमपाइप राखेर अस्थायी डाइभर्सन बनाइएको छ ।
बुटवल नारायणगढ सडक विस्तार आयोजना अन्तर्गत नयाँ पुल निर्माणका लागि पुराना पुल भत्काउन लागिएको हो ।
राजमार्गलाई ४ लेन र ६ लेनमा विस्तार गर्ने पक्रिया अघि बढेको छ । साना पुलहरुलाई भत्काएर ४ लेनको लागि नयाँ पुल बनाइने छ ।
नारायणगढ बुटवल सडक योजना अन्तर्गतक बुटवल–दाउन्ने खण्डमा मात्र २२ वटा साना पुल र अन्य कल्भर्टहरु भत्काएर नयाँ बनाइने सडक योजनाका इन्जिनियर युवराज पाण्डेले बताए ।
‘२० मिटर भन्दा कमका सबै पुलहरु भत्काएर ४ लेन सडकसँग मिलाउन दुइ–दुइ लेनको दुइ वटा पुल बनाइन्छ’–उनले भने–‘त्यस्तै २ सय ४७ कल्भर्टहरुलाई ४ लेनको बनाउने काम पनि सुरु गरिसकेका छौं ।’
साना पुल र कल्भर्टहरु भत्काएपछि तत्कालको लागि नजिकै डाइभर्सन बनाएर गाडी ओहोर दोहोर गराइन्छ ।
त्यसै गरी २० मिटर भन्दा लामा राजमार्गका मुख्य पुललाई भने यथावत राखिने आयोजना इन्जिनियर पाण्डेले बताए।
‘ठूला पुलहरुलाई यथावत राखन्छ । त्यसको दक्षिण तर्फबाट अर्को दुइ लेनको फुटपाथ सहितको पुल बनाइन्छ’–उनले भने–‘३ वटा ठूला पुलको फाउण्डेसनको पनि काम भइरहेको छ।’ दाउन्ने पश्चिम खण्डमा २० मिटर भन्दा लामा ९ वटा पुल रहेको छ ।
त्यसै गरी दाउन्ने पूर्व नारायणगढ सम्मका सडकका पुलहरु पनि मर्मत थालिएको छ।
पूर्वतर्फ १२ वटा ठूला पुल, २२ वटा साना पुल र २ सय १६ वटा जति कल्भर्टहरु रहेका छन्। यी मध्ये ६ वटा साना पुल र २८ वटा कल्भर्टको निर्माणको काम सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका इन्जिनियर कृष्ण आचार्यले बताए।
‘६ वटा साना पुल निर्माणको क्रममा छन् । अर्को एउटा मेजर पुलपनि फाउण्डेसन बनाउने काम भइरहेको छ’–उनले भने ।
पुल बाहेक पश्चिम खण्डमा खैरेनी सुनवल सडक खण्डमा बाटो विस्तारको काम भइरहेको छ।
पूर्वी खण्डमा पनि नारायणगढ १५ किलोमिटर सडकको काम भएको छ। यी दुवै ठाउँमा माटो पट्याउने नाली निर्माण लगायतका काम भइरहेको आयोजनाले जनाएको छ।
बुटवल नारायणगढ सडक विस्तारको लागि २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिलन्यास गरेका थिए।
कुल १ सय १५ किलोमिटर सडक विस्तारका क्रममा बस्ती क्षेत्रमा ६ लेन र बस्ती नभएको ठाउँमा ४ लेनको सडक बन्ने छ। जस अनुसार कुल २८ किलोमिटर सडक ६ लेनको हुने छ।
बुटवल–नारायणगढ सडकलाई दुई भागमा बाँडेर काम हुँदैछ । दाउन्ने पुर्वको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र दाउन्ने पश्चिम वुटबलसम्मको साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ।
तर कोरोना महामारी लकडाउनको लगायतका कारण काममा ढिलाइ भएपछि म्याद थपिने सम्भावना छ।