बुटवल–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा तथा निर्वाचन आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुँदैछ।
हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने छन्।
त्यसैले आगामी कार्यकालको बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनाबी मैदानमा उत्रीएका छन्।
तर यी दुवैको प्यानलमा बुटवल उद्योग वाणिज्य संघका कोही प्रतिनिधिको नाम भेटिदैन। महासंघको स्थापना कालदेखि हालसम्म सबैजसो कार्यसमितिमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट न कोही पर्ने गरेका थिए।
वि.सं. २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघ नेपालको पुराना व्यवसायीक संस्था मध्येमा पर्दछ।
२०२२ सालमा नेपाल उद्योग वाणिज्य महासंघ स्थापना हुँदा यसको संस्थापक सदस्य मध्ये बुटवल उद्योग वाणिज्य संघ पनि एक हो।
नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुँदा संघको तर्फबाट सुर्यलाल महासंघको कार्यसमिति सदस्य बनेका थिए। पछि संघका पूर्व अध्यक्षहरु सूर्यप्रसाद प्रधान, हिराप्रसाद श्रेष्ठ, जीवन ओझा, ज्ञानेन्द्र कसजु, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नेपाल उद्योग महासंघको कार्यासमिति सदस्य भइसकेका छन्।
महासंघको प्रत्येक चुनावमा बुटवल उद्योग वाणिज्य संघले कार्यसमिति सदस्यको लागि आफ्नो उमेद्वार अघि सार्ने गर्दथ्यो। प्रायः सबैले विजय हासिल गरेका थिए।
३ कार्यकाल महासंघको कार्यसमिति सदस्य भइसकेका संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजुले बुटवल उद्योग वाणिज्य संघको राम्रो प्रभावका कारण पटक पटक ठाउँ पाइरहेको बताए।
‘हाम्रो उद्योग वाणिज्य संघको प्रभाव राम्रो छ, त्यसैले महासंघको कार्यसमितिमा कोहि न कोही भइरहनुहुन्थ्यो’–उनले भने–‘जिल्लाव्यापी रुपमा साथीहरुले सहयोग गर्दा खासै पराजय भएको छैन।’
राम्रो प्रभाव बटुलेर नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा लगातार कार्यसमिति सदस्यमा जित हाशिल गरिरहेपनि आगामी चुनावमा बुटवल उद्योग वाणिज्य संघले उमेदवारी भने दिएको छैन। आखिर किन त ?
मुलुक संघीय संरचनामा गएपछि महासंघका प्रदेश संरचनाहरु पनि गठन भएका छन्। उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा उमेद्वारी दिने भएकाले महासंघको केन्द्रमा बुटवल उद्योग वाणिज्य संघले उमेद्वारी नदिएको संघका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले बताए।
‘यसपटक प्रदेशको अध्यक्षमा उमेद्वारीमा उमेदवारी दिने भयौं, दुवैतिर ओगट्दा राम्रो सन्देश जाँदैन’–उनले भने–‘विगतमा अञ्चलको कोटा र जिल्लानगर दुबैबाट उमेद्वार दिँदा एकातर्फबाट पराजय भएको अवस्था हामीले भोगेका छौं। त्यसैले अहिले एकातर्फ मात्र उमेदवार दिएको हो।’
केही वर्ष अघि जिल्लाहरुमा सिमित मात्र उद्योग वाणिज्य संघ थिए। नयाँ संघिय संरचना अनुसार मुलुकमा नगरपालिकाको संख्या बढेसँगै उद्योग वाणिज्य संघको संख्या पनि बढ्यो।
उद्योग वाणिज्य संघ बढेपछि महासंघको कार्यसमितिमा उमेदवारी दिने आकाक्षीहरु पनि बढेका छन्। ‘महासंघको सदस्यहरुको संख्या विस्तार भएपछि तालमेल मिलाउन प्रदेशको नेतृत्वमा मात्र दाबी गरेका हौं’–संघका उपाध्यक्ष श्रेष्ठले भने–‘अहिले हाम्रो लागि प्रदेशको अध्यक्ष महत्वपूर्ण हो।’
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव भइसकेपछि प्रदेशमा चुनाब हुनेछ। उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आगामी अध्यक्षको लागि बुटवल उद्योग वाणिज्य संघले आफ्ना पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई अघि सारेको छ।
श्रेष्ठ हाल महासंघका कार्यसमिति सदस्य पनि हुन्। उनले महासंघको प्रदेश अध्यक्षमा जित हारेमा महासंघको केन्द्रमा बुटवल उद्योग वाणिज्य संघको प्रतिनिधित्व खाली हुने छैन्।
‘विधानमा भएको व्यवस्था अनुसार प्रदेश अध्यक्ष महासंघको पदेन कार्यसमिति सदस्य हुन्छ । त्यो मात्र नभई स्थायी कमिटी सदस्यको भूमिका पनि निर्वाह गर्छ’–अध्यक्षका प्रत्यासी सुरेन्द्र श्रैष्ठले भने।
तर प्रदेश अध्यक्षको चुनाब जित नभएमा भने पहिलो पटक महासंघमा बुटवल उद्योग वाणिज्य संघको प्रतिनिधित्व गुम्ने छ। ‘विगतदेखि नै देशव्यापी रुपमा हाम्रो संघको प्रभाव राम्रो छ। त्यसैले त्यो अवस्था नआउला’–श्रेष्ठले भने।