बुटवल–तिहार नजिकिँदै गर्दा बजारमा फूलको व्यापार पनि सुरु भएको छ। बुटवलका विभिन्न ठाउँमा अहिले मालाहरु बिक्रीका लागि राखिएको छ। तर अझै पनि बुटवलको बजारमा बिक्रिका लागि राखिएका धेरै फूल भारतीयबाट आयातित नै हुन्।
हालै गठन भएको फूल व्यवसायीहरुको संस्था फ्लोरिकल्चर एशोसिएशन बुटवलका सचिव अशोककुमार कार्कीले यो वर्ष रुपन्देहीका लागि मात्र ८० हजार माला भारत भित्रिन लागेको बताए।
नेपालमा समय अनुसार फूल उत्पादन हुन नसकेको कार्कीले बताए। ‘कसैको सिजन भन्दा पहिले फूल्ने, कसैको सुक्ने त्यो भएर समय नमिलेकाले भारतबाट मगाउनै पर्छ’–उनले भने ‘यो वर्ष व्यवसायीहरुले एक लाख माला बेच्ने लक्ष्य छ। त्यसमध्ये २० हजार माला यहीँका किसानहरुको उत्पादन हुन्छ, ८० हजार बाहिरबाटै ल्याउनुपर्छ।’
नेपालको मालाको मूल्य पनि महंगो हुने भएकाले भारतीय मालाले बजार पाइरहेको कार्कीले बताए।
‘भारतको माला हामीले किन्दा ४५–५० रुपैया पर्दछ, यही उत्पादन भएको माला ९० रुपैयासम्म पर्दछ’–उनले भने–‘नेपालको मालाको उत्पादन खर्च पनि बढी छ।’
एशोसिएसनका अध्यक्ष किरणकुमार श्रेष्ठले विगत ५ वर्षदेखि बुटवलमा माला बिक्री गर्दै आइरहेका छन्।
मालाको व्यापार गत वर्ष जस्तो नभएको उनले बताए। ‘भारतबाट पनि माला ल्याउन अलि गाह्रो छ । यहीँका किसानले लगाउका फुलका माला होलसेल रेट पनि महँगो छ’–उनले भने –‘किसानले उत्पादन गरका धेरै जसो फूल खेतमै सिमित छ।’
श्रेष्ठले फूल खेती गरेका ठाउँका माला बजारमा भन्दा बढी स्थानीयले खेलमै गएर किन्ने गरेको सुनाए।
फूलखेती गरिरहेका कृषकहरुले यसवर्ष कोरोना र बर्षाका कारण राम्रो उत्पादन हुन नसकेको बताएका छन्।
रुपन्देही तिलोत्तमाकी देवी वाग्लेले गत वर्ष २१ कठ्ठामा फूल लगाएकी थिइन्। कोरोना असरका कारण थोरै जग्गामा फूल खेती गरेको त्यो पनि वर्षाका कारण उत्पादन राम्रो नभएको वाग्लेले बताइन्।
‘वर्षमा दुइ सिजन फूल लगाइन्थ्यो, माघमा लगाइएको थियो, कोरोना र लकडाउनको कारण कार्यक्रम भएनन्, फूल त्यसै खेर गयो’–उनले भनिन्–‘तिहारलाई लक्षित गरेर भदौमा लगाएको फूल वर्षाका कारण राम्रो भएन।’
तिलोत्तमा ४ ड्राइभर टोलमा मनकामना फूल उत्पादक कृषक समूहले फूल खेती गरेको छ। ५ कठ्ठा जग्गामा ५ जना मिलेर फूल खेती गरेको समुहकी अध्यक्ष माया भट्राइले बताइन्।
‘१२ कठ्ठा जग्गा फूल खेतीको लागि लिजमा लिएका थियौं, कोरोनाका कारण ५ कठ्ठामा लगाएका हौं’–उनले भनिन्–‘वर्षाले अलि समस्या पारेको थियो, तर पनि पानी तर्काएर भएपनि फूल फूलायौं।’
उत्पादन भएका फूल बजारमा पठाउन नपर्ने र सबै बारीबाटै उपभोक्ताकोमा जाने उनले बताइन्। ‘मलाई यति चाहियो भनेर फोन मार्फत भनिरहनुभएको छ। अहिलेलाई बजारमा पठाउन पर्दैन।’