बुटवल-लगानीकर्ताहरुबिच विवाद मिलेपछि नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को साधारण सभा गरेको छ । लगानीकर्ताहरुबिच विबाद हुँदा ३ वर्षदेखि साधारण सभा हुन सकेको थिएन ।
सबैभन्दा ठुलो लगानीकर्ता बुटवल पावर कम्पनीले संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिवसमेत लाई विपक्षी बनाइ २०७५ भदौ २० गते कम्पनी ऐन बमोजिम सजाय गरी पाउ भनि अदालतमा उजुरिपत्र र मुद्धा दायर गरेकाले विगत तीन आर्थिक वर्षदेखि साधारण सभा रोकिएको थियो ।
उक्त विबादका सम्बन्धमा दुबै पक्षविच २०७६ साल पुस १६ गते मिलापत्र भएको थियो । मिलापत्र र कम्पनीको आन्तरिक लेखा परिक्षण पछि गत कात्र्तिक १६ गते साधारण सभाको मिति तोकिएको थियो ।
तर उक्त साधारण सभामा ५१ प्रतिशत गुणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीमा ५१ प्रतिसत लगानी भएको बुटवल पावर कम्पनीका २ सदस्य अनुपस्थित भएपछि स्थगित भएको थियो ।
आज आर्थिक वर्ष २०७४/७५ को साधारण सभा भएपनि २०७५/७६ र २०७६/७७ को साधारण सभा हुन बाँकी छ । ती साधारण सभाको लागि आजको साधारण सभाले अन्तिम लेखापरिक्षक नियुक्त गरेको छ ।
लेखापरिक्षण सकिएपछि दुबै साधारण सभा एकैपटक गरिने लिमिटेडका अध्यक्ष रत्न संसार थापाले जानकारी दिए । आजको साधारण सभाले बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन पारित गरेको उनले बताए ।