बुटवल– रुपन्देहीलाई सडक सञ्जालले जोड्ने महत्वकांक्षी आयोजना तिनाउ र दानव कोरिडोर सडक निर्माणको शिलन्यास गरिएको छ।
बुधबार अर्थमन्त्री विष्णु पौडेलले कोरिडोरको शिलान्यास गरे। कोरिडोरको शिलान्यास गर्दै मन्त्री पौडेलले रुपन्देहीलाई आर्थिक, पर्यटन, सांस्कृतिक र वाणिज्यको केन्द्र बनाउने गरी योजना अगाडि बढाइने बताए।
उनले रुपन्देहीलाई कुनै पनि क्षेत्रबाट पछाडि पर्न नदिने र त्यसको लागि बजेटको समेत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदैमा रुपन्देहीका कुनै पनि विकास आयोजनालाई ओझेलमा पर्न नदिने समेत बताए। उनले सरकारले विकास निर्माणका कामलाई तीब्रता दिँदै लग्ने बताएका थिए।
तिनाउ र दानव नदीका दुवै किनारामा बन्ने यो सडकले बुटवलदेखि मर्चवारसम्मलाई जोड्नेछ। यो कोरिडोर अन्तर्गत ५० किलोमिटर सडक निर्माणको डिपीआर तयार भइसकेको छ।
नदी किनारामा विकास भइरहेका मानव बस्ती तथा ठूला शहरहरुलाई जोड्ने तथा यातायातको सहज पहुँच वृद्धि गर्ने उद्देश्य यो सडकको छ। यसोगर्दा नदीमा तटबन्धको काम हुने र बस्तीहरु सुरक्षित गर्न समेत सकिनेछ।
डीपीआर भइसकेको मध्ये अहिले तिनाउतर्फ साढे ८ र दानव नदीतर्फ ३ किलोमिटर सडक निर्माणको लागि ठेक्का सम्झौता भएको छ।
शिलान्यासपछि तिनाउ कोरिडोर अन्तर्गत जिरो पोइन्ट (तिनाउ र दानव छुट्टिएको ठाउँ) देखि मगरघाटसम्मको नदी किनारको दुवैतर्फ सडक निर्माण हुनेछ। यसको लागत ५२ करोड ४६ लाख रुपैयाँ रहेको छ।
३६ महिनामा काम सक्नेगरी यसको ठेक्का किराँतेश्वर मैनाचुली अविसा जेवीले पाएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर कृष्ण कुँवरले जानकारी दिए।
दानव कोरिडोरमा बेलबासको झोलुंगे पुलदेखि नयाँ गाउँसम्म सडक निर्माण हुनेछ। २७ महिनामा काम सक्ने गरी यसको १९ करोड ४२ लाख रुपैयाँमा सम्झौतामा लामा बानियाँ जेवीले काम गर्नेछ।
२२ मिटर चौडाइको सडक क्षेत्र मध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात रुखहरु रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटरमा सडक संरचना हुने इन्जिनियर कुँवरले बताए।
‘सात मिटर कालोपत्रेले समेट्ने छ। सडकको दुवै किनारमा दुई–दुई मिटरको फुटपाथ हुनेछ। आधा–आधा मिटरको नाली हुनेछ,’ उनले भने।
तिनाउ करिडोरमा बुटवलबाट अमुवासम्म साढे १७ किलोमिटरका दरले दुवैतर्फ ३५ किलोमिटरको सडकको डीपीआर तयार भएको छ।
त्यस्तै दानव करिडोरमा बुटवलबाट कर्शाघाटसम्म साढे ७ किलोमिटरका दरले दुवै तर्फको १५ किलोमिटरको लागि डीपीआर तयार भएको हो। डीपीआर भएका दुवै करिडोरको ५० किलोमिटर सडकको लागि ४ अरब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। बजेट आएमा बाँकी ठाउँमा पनि ठेक्का प्रक्रिया अघि बढाउने इन्जिनियर कुँवरले बताए।
तिनाउ करिडोरको अमुवाबाट दक्षिण र दानव करिडोरको कर्शाघाटबाट पश्चिमतर्फ गरी ८० किलोमिटर सडकको डीपीआर हुन भने बाँकी छ। यसको सर्वेको काम अघि बढाउने तयारीमा रहेको कुँवरले बताए।
करिडोरको योजना पूरा भएमा तिनाउ करिडोरमा बुटवलबाट मर्चवारस्थित दानव नदीसँग पुनर्मिलन भएको ठाउँसम्म सडक बन्नेछ। दानव करिडोर अन्तर्गत शुद्धोधनको नौडिहवासम्म सडक निर्माण हुनेछ।