बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. राष्ट्रियस्तरको विकास बैंक बनेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भएको घोषणा गरेका हुन् ।
सो अवसरमा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिए । उनले युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न रोजगारमूलक अवसर सिर्जना हुने गरी लगानी बढाउन सुझाव दिए ।
नेपालले नाकाबन्दीबाट अझै पनि पाठ सिक्न नसकेको औंल्याउंदै गभर्नर नेपालले मुलुक अरु कसैले बनाइदिने नभई नेपालीले नै बनाउने हो भन्ने चेत खुल्नुपर्नेमा जोड दिए । नेपालीहरुले मलेसिया, दुबई, अमेरिका र अष्ट्रेलियामा मात्रै अवसर देख्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले उद्यम गर्नेलाई ऋण दिन बैंकहरु गाउं गाउंमा पुगिसकेकाले बैंकबाट कर्जा लिएर उद्यमशील बन्न सुझाव दिए । रुपन्देहीको तिलोत्तमामा भएको लगानी सम्मेलनले समेत पांच नम्बर प्रदेशमा लगानीका प्रशस्त संभावना खोलेको भन्दै उनले कृषि,पर्यटन र सेवा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
उनले नेपालको आर्थिक बृद्धि दर तीन वर्ष यता लगातार बृद्धि हुनु लगानीकर्ताका लागि खुशीको कुरा भएको स्मरण गराए । शाइन रेसुंगा राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै देशभरि लगानी गर्ने अवसर आएको भन्दै गभर्नर नेपालले अवसरलाई सदुपयोग गर्न बैंकलाई सुझाव दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले राष्ट्र बैंकको नीति अनुसार आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जर तथा एक्वीजिसनमा गएको बताए ।
उनले शुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगालेर अघि बढेकाले मर्जरमा सफलता हासिल गरेको भन्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय सेवा दिने प्रतिवद्धता जनाए ।
पौडेलले पांच नम्बर प्रदेशलाई आधार र केन्द्र बनाएर राष्ट्रिय स्तरमा अग्रणी विकास बैंकको रुपमा पहिचान बनाउने लक्ष्य रहेको बताए ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता र बैंकका सञ्चालक एवं पुर्व अध्यक्ष थानेश्वर पौडेलको स्वागतमा भएको कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्न ३ लाख रुपैयाँको अक्षयकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघलाई चेक हस्तान्तरण गरेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेलाई चेक हस्तान्तरण गरिएको हो । अक्षयकोषको व्याजबाट कम्तीमा २५ हजार रुपैयाको नगद पुरस्कार सहित हरेक वर्ष एक जना पत्रकारले आर्थिक पुरस्कार पाउने छन् ।
यस्तै मानव सेवा आश्रम बुटवललाई एक लाख पचास हजार, पाल्पाको रिव्दिकोट गाउँपालिका स्थित भवानी माविलाई एक थान ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ । यस्तै बैंकले बुटवलको राजमार्ग चौराहा र नयाँ बसपार्कमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । त्यसको व्यवस्थापन प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले गर्ने छ ।
प्रदेशकै पहिलो राष्ट्रियस्तरको बैंक
प्रदेश ५ का विभिन्न जिल्लामा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरु मिलेर राष्ट्रियस्तरको विकास बैंकको स्वीकृति पाउनेमा शाइन रेसुंगा पहिलो बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता पुंजी तोकेकामा शाइन रेसुंगाको चुक्ता पुंजी दुई अर्ब ६२ करोड रहेको छ ।
देशभर हाल ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्र सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।
शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार शुरु गरेको थियो ।
बैंकको अहिले प्रदेश ५ का रोल्पा र रुकुम वाहेकका १० जिल्ला तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्ला कार्यक्षेत्र छन् ।
शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट यही मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताए । बैंकको अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको ७० वटा शाखा र एउटा एक्सटेन्सन कार्यालय छन् ।
प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय छन् । प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय हुने बैंक पनि शाइन रेसुंगा नै भएको छ ।
बैंकले हालसम्म २६ अर्ब ८२ करोड निक्षेप संकलन र २४ अर्ब १४ करोड कर्जा प्रवाह गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए ।
बैंकका ग्राहक संख्या तीन लाख ८० हजार पुगेका बैंकले जनाएको छ । बैंकले उत्पादनशील क्षेत्रमा कूल कर्जाको २२ प्रतिशत लगानी गरेको छ ।
राष्ट्र बैंकको कम्तीमा १५ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशन छ । बैंकले कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा ८१ करोड रुपैया प्रवाह गरेको बैंकका नायब महाप्रवन्धक सार्जन भट्टराईले जानकारी दिए ।
कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीति अनुसार गत वर्ष शिक्षा, स्वास्थ्य, सरसफाई, दुर्घटना न्यूनिकरण जस्ता क्षेत्रमा एक सय ५१ संस्थासंगको सहकार्यमा ४५ लाख २३ हजार रुपैयां खर्च गरेको नायब प्रमुख कार्यकारी गुरुङले बताए ।
बैंकको केन्द्रीय कार्यालयको नयां पांचतले भवन भवन बुटवल–११ कालिकानगरमा निर्माणाधीन छ ।