बुटवल-रुपन्देही क्षेत्र नम्बर २ को लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकम यो वर्ष सबै स्वास्थ्य क्षेत्रमा खर्च गरिने भएको छ। प्रत्येक संघिय निर्वाचन क्षेत्रमा आउने उक्त रकम आफ्नो क्षेत्रमा स्वास्थ्य क्षेत्रमा खर्च गरिने अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले जानकारी दिए।
पौडेलको संयोजकत्वमा बसेको कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकले स्वास्थ्य क्षेत्रका ४ वटा योजना छनोट गरेको हो। जस अनुसार बुटवल १२ को शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रमका लागि १ करोड ५० लाख रुपैया विनियोजन भएको छ। त्यसै गरी तिलोत्तमा नगरपालिकाको शंकर नगर स्वास्थ्य चौकीमा पूर्वाधार निर्माण एवं सुदृढीकरण र सैनामैना नगरपालिकाको पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्रको सुदृढीकरण कार्यक्रम पनि छनोट भएको छ। दुबै स्वास्थ्य संस्थाको लागि एक–एक करोड रुपैया विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसंगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालनको लागि कार्यक्रम अन्तर्गत ५० लाख रुपैया छुट्याइएको छ। स्थानिय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रुपन्देही क्षेत्र नम्बर दुईमा अघिल्लो वर्ष सबै रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएकोमा याे वर्ष स्वास्थ्यका लागि खर्च गरिने भएकाे हाे।