बुटवल -रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा आधुनिक हाटबजार बन्ने भएको छ। हाटबजार निर्माणको लागि गाउँपालिकाले डिपिआर तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाएको छ। एक विघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने हाटबजारमा ७ वटा ब्लक हुने छन् । जहाँ फरक फरक प्रकारका सामान विक्रिका लागि राखिने छ।
हाटबजारका दुइवटा ब्लकमा मार्केट स्टल रहने छ । जहाँ खुल्ला रुपमा २४ वटा पसल राख्न सकिने छ । मार्केट स्टलकै विचमा रहेको छाता आकारको २ वटा खुल्ला एरिया मार्केट रहने छ। त्यसमा पनि खुल्ला रुपमा सामानहरु विक्रि गर्न सकिने छ। त्यसै गरी छुट्टा छुट्टै ४८ वटा स्टलको लागि वाल उठाएर सेपे्रट ब्लक बनाइने छ।
हाटबजारमा होलसेल सटर ५ वटा हुने छ । डिपिआर अनुसार माछामासुको तिरको लागि २२ वटा स्टल रहने छ। दुध र डायरीसँग सम्बन्धीत १२ वटा स्टल छुट्याइएको छ। अन्य खुद्रा तथा किराना बजार, तरकारी, कपडा लागतयका सामान राख्ने गरी ठाउँहरु छुट्याइएको छ। ठेलामा सामान विक्री गर्नेहरुको लाग ६ वटा ठेला राख्ने ठाउँ पनि बनाइएको छ।
हाटबजार प्रवेश गर्न चार वटा प्रवेशद्वार राखीने छ। दुईवटाबाट प्रवेश गर्न र अर्को दुइवटाबाट निस्कन मात्र पाइने सुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कंडेलले बताए। बजारमा मुल्य सुचि सहितको डिसप्ले बोर्ड पनि देख्न सकिने छ। हाटबजार भित्र ३ वटा पार्किङ एरिया, दुइवटा चौपारी र २ वटा सौचालय भवन पनि बन्नेछन्। उपभोक्ताहरुलाई विश्राम गर्न मिल्ने प्रतिक्षा कक्ष रहेने छ।
एउटा प्रशासनिक भवन पनि बन्ने छ। डिपिआर अनुसार हाटबजार बनेमा यो निकै व्यवस्थित र आधुनिक हाटबजार हुने गाउँपालिकाका प्रवक्ता कंडेलले बताए। ‘अहिले जता पायो उतै पार्किङ छ, बाटो बाटोमा पसल राख्ने गरिएको छ। आधुनिक हाटबजार बनेमा उपभोक्ताहरुलाई सहज हुने छ।’ उनले भने ‘तरकारीजन्य, कपडाजन्य, किराना लगायतका सामान राख्न सेक्टर छुट्टीने छ व्यवस्थित तरिकाले किनमेल गर्न पाइन्छ।’
हाटबजार निर्माणको लागि कुल लागत ६ करोड ७९ लाख ९३ हजार १ सय ६८ रुपैया लाग्ने अनुमान गरिएको छ। संघिय सरकारको कृषि तथा पशुपंछी मन्त्रालयबाट विनियोजन भएको ५० लाख रुपैयाबाट यो वर्ष काम थालिएको छ। अर्को ५० लाखको लागि प्रदेश सरकारसँग कुरा भइरहेको कंडेलले जानकारी दिए। मंगलबार र शनिवार लाग्ने फर्साटिकरको हाटबजारमा डेढसयदेखी दुइ सय व्यवसायीले विक्रिका लागि सामान राख्ने गरेका छन्।