भैरहवा–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना सरकारले लिएर भएपनि छिटै नै निर्माण सम्पन्न गर्ने बताएका छन् ।
विमानस्थलको स्थलगत निरिक्षण गर्दै मन्त्री भट्टराईले नेपाल सरकारले २२ वटा राष्ट्रिय गौरवको आयोजना मध्ये पहिलो सम्पन्न हुने आयोजना गौतमबुद्ध विमानस्थल भएकाले कुनै हालतमा असफल नहुने बताए ।
‘सामान्य अवस्था भए जनवरीबाट उडान हुने थियो, हाम्रो काबु बाहिरको परिस्थतिले अवरोध सिर्जना भयो । अब पनि प्राविधिकहरु आएन भनेर अल्झिनु हुदैन, विकल्प खोज्दै गरौं, मन्त्रालयले आफ्नो सामथ्र्य भन्दा बाहिरको प्रयास पनि जारी राखेका छौं’–मन्त्री भट्टराईले बताए ।
‘चीन, अमेरिका, अष्ट्रिया, थाइल्याण्डबाट दक्ष जनशक्ति आउनु पर्ने भएपनि थाइल्याण्डका प्राविधिकहरु जोखिमका कारण आउन मानेका छैनन्, त्यहाको सरकारले समेत सबै उडान बन्द गरेकोले प्रयास जारी छ, आउने कुरा छ मन्त्रालयले समन्वय र सम्पर्क गरिरहेको छ,’–मन्त्री भट्टराईले बताए ।
उडानका लागि अन्तर्राष्ट्रिय एअरलाइन्सहरु लागि चासो देखाइसकेको उनले बताए । विमानस्थलको निर्माण सम्पन्न गर्न २५ दिनको समय बाँकी रहेको भन्दै उनले यसबीचमा निर्माण पूरा हुनेनहुने आधार र खाका लिएर आयोजनालाई २५ दिन होमवर्क गर्न समय दिएको बताए ।
निरीक्षणमै मन्त्रीसँगै आएका मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले २०१७ मा सम्पन्न हुने आयोजना अन्तिम पटक भनिएको म्याद थपमा समेत प्राविधिक नआउदा सम्पन्न हुन सक्ने अवस्थामा नरहेको बताए ।
‘आउदैनन भने अर्को विकल्प खोज्ने, आउन खोजेका छन् भने कुटनितिक तहबाट भएपनि पहल गरेर प्रविधिक ल्याउन मन्त्रालयले प्रयास गर्ने छौं’–उनले भने–चिनियाँ प्राविधिक रोकिएको कारण उपकरण जडानको काम रोकिन पुगेको हो ।’
उपकरण जडान भन्दा पहिला गर्नु पर्ने अन्य कामका साथै सिभिलका सबै काम नेपाल र भारतकै जनशक्तिबाट सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।
‘अहिले चीनबाट आउने ३५ जना प्राविधिक मध्ये केहीले कोरोना भाइरसविरुद्धको पहिलोे भ्याक्सिन लगाइसकेका छन, दोस्रो भ्याक्सीन लगाएसँगै सोमबार आउने प्रक्रियामा छन्’–उनले भने–‘लकडाउन अवधिको लगातार कामले धेरै सफलता मिलेको छ । सञ्चार उपकरण, फर्ड लाइट, एक्सरे मेसिन, मौसम पूर्वानुमान उपकरण, सीसी टिभी, उडान जानकारी डिस्प्ले, कन्भेयर बेल्ट, धावनमार्गमा जडान गरिने लाइट, सेन्ट्रल एसी लगायत उपकरण जडान गर्न बाह्य मुलुकबाट दक्ष प्राविधिक जनशक्ति आउनुपर्ने छ ।’
आयोजना प्रमुख अधिकारीले भौतिक प्रगति करिब ९३ प्रतिशत भएको बताए । अहिले ९५ प्रतिशत उपकरणहरु अधिकांश फिल्डमा आइसकेको बताउँदै उनले रसुवामा रोकिएको उपकरण ल्याउन समन्वय भइरहेको छ आउने प्रक्रियामै रहेको जानकारी दिए ।
‘अहिलेको मुख्य चुनौती दक्ष प्रविधिक ल्याउनु नै हो मन्त्रालयबाट पनि समन्वय भइरहेको छ, जति सक्दो छिटो ल्याउन प्रयासरत छौ । अब ५ प्रतिशत उपकरण जडान सम्बन्धिको काम र बाकी फिनीसिङको काम हो । प्रविधिक आएको ३ महिनामा विमानस्थल पूर्ण रुपमा सञ्चालन योग्य हुन्छ ।’–मन्त्रीलाई प्रगतिबारे ब्रिफिङ गर्दै उनले भने ।
१५ जनवरी २०१५ मा सुरु भएको आयोजनाकोे म्याद थप सहित डिसेम्बर ३० सम्मको समयावधि छ । अहिलेसम्म ९३ प्रतिशत काम सम्पन्न भएको छ भने ६ अर्ब ८२ करोडको आइसीबी १ को काम र ५० करोड बढिको लागतमा आइसीबी २ को काम निर्माणको चरणमा छ ।