बुटवल-बुटवल उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित विभिन्न आयोजनाहरूमध्ये प्रथम चौमासिकसम्म धेरै आयोजना सम्पन्न भएको उपमहानगरले जनाएको छ।
शहरी पूर्वाधार विकास, पशुपंक्षी विकास, कृषितर्फका धेरै योजनाहरूमा उलेख्य उपलब्धि हासिल भएको उपमहानगरको दाबी छ।
उपमहानगरपालिकाले आन्तरिक आयतर्फको लक्ष्य पनि प्रथम चौमासिकसम्म ७५ प्रतिशतसम्म प्रगति हासिल गरेको छ ।
बुटवल उपमहानगरपालिकाले मंगलबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रगति विवरणसहितको समीक्षा सार्वजनिक गरेको थियो । चालू आवमा क्रमागत भई आएका शहरी पूर्वाधार विकासका आयोजना हालसम्म ८४ वटा सम्पन्न भएका छन् । आव २०७७/०७८ मा दुई सय ८९ वटा आएका थिए ।
विकास योजनालाई प्राथामिकता दिएर अगाडि बढेको उपमहानगरपालि यस वर्ष २५ वटा नयाँ योजना अगाडि बढाएको थियो । उपमहानगरमा चालूतर्फ सञ्चालित दुई वटा आयोजना पनि सम्पन्न भइसकेका छन् ।
पत्रकार भेटघाटमा पत्रकारका जिज्ञासाको जवाफ दिंदै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले चालू आवको प्रथम चौमासिकसम्म ८४ वटा सम्पन्न भएको जानकारी गराइन । मंगलबारको कार्यक्रममा कार्यवाहक प्रमुख समेत रहेकी आचार्यले महामारी नियन्त्रणका लागि उपमहानगरका काममा निजी क्षेत्र तथा संघसंस्थाले महत्वपूर्ण सहकार्य गरेको भन्दै प्रशंसा समेत गरिन् ।
किसानलाई प्रोत्साहनदेखि बीउ वितरणसम्म
उपमहानगरले यसअवधिमा किसानलाई प्रोत्साहनदेखि विभिन्न खालका काम गरेको जनाएको छ । पशुपंक्षीतर्फ पशु आहारा सेवा कार्यक्रममा हिउदे जौं सात सय केजी तथा वर्षिक एक हजार केजी, घासको बीउ दुई सय ४१ जना कृषकलाई बितरण गरिएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आन्तरिक आयतर्फ प्रथम चौमासिकसम्म ७५.०२ प्रतिशत लक्ष्य हाँसिल भएको जानकारी दिए । नगरपालिकाले वार्षिक अनुमानतर्फ ४७ करोड १ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य थियो ।
शर्माले भने, ‘हामीले नदीजन्य पदार्थ समयमै ठेक्का पट्टा लगाउन सकेमा अन्तरिक आयतर्फ लक्ष्य समयमै हाँसिल गर्छ ।’
नगरसभा एवं नगर कार्यपालिकाबाट हालसम्म १६ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका र ३२ वटा कार्यविधि ४ वटा राजपत्रमा प्रकाशित गर प्रकासन समेत गरिसकेको छ । नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण मापदण्डसम्बन्धी निर्देशिका–२०७७ जारी गरिएको बताए ।
महामारी नियन्त्रणको प्रयास
बुटवलले सञ्चालन गरेका दुई वटा आइसोलेसन सेन्टरबाट करिब चार सय जना कोरोना संक्रमित आइसोलेट भई निको भएर घर फर्किसकेका छन् । बुटवल उपमहानगरपालिकामा हालसम्म करिब चार हजार जना संक्रमित र तीन हजार दुई सय ५८ जना निको भई घर फर्किसकेका छन् ।
उपमहानगरमा हालसम्म एकसय ६३ जना अझै एक्टिव केस रहेका छन् । त्यस्तै एक हजार सात सय ३१ जना दीर्घरोगी र तीन सय ८१ जना जेष्ठ नागरिकको निःशुल्क पिसिआर जाँच पनि गरिएको छ । उनीहरुलाई घरघरमै पुगेर औषधिसमेत वितरण गरिएको छ ।
बुटवलमा कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भएको छे । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका विरामीलाई आयुर्वेद र एलोपेथिक औषधि सहित स्वास्थ्य लाभको कार्ड सहित ८५६ जनालाई वितरण गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले जानकारी गराए ।
स्थानीय पाठ्यक्रम
बुटवलले स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठन पाठन शुरु गराएको छ । बुटवलले एक सय पूर्णांकको स्थानीय पाठयपुस्तक हाम्रो बुटवल चालू शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु भएको छ ।
‘फेस टु फेस मोडेल’ बाट विद्यालय सञ्चालन गर्न नगरपालिकाबाट विद्यालय परिसरलाई निर्मलीकरण गरिएको छ । विद्यालयहरुमा थर्मल गन तथा स्प्रे मेसिन उपलब्ध गराउने प्रक्रिया थालिएको शर्माले बताए ।