काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा शेयर दलालले लिने कमिशन रकम ६० प्रतिशतसम्म घटाएको छ ।
बोर्डले आइतबारदेखि लागू हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिशन घटाएको छ । पछिल्लो समय धितोपत्र बजारमा ८५ प्रतिशत कारोवार अनलाइनमार्फत हुने गरेको र ब्रोकरको काम घटेको भन्दै कमिशन घटाएको हो ।
नयाँ व्यवस्था अनुसार ५० हजारसम्मको शेयर कारोवारमा अब शुन्य दशमलव चार शुन्य प्रतिशत कमिसन तिर्नु पर्ने छ । ५० हजारदेखि ५ लाखसम्मको कारोवारमा शुन्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्ममा शुन्य दशमलव ३४ प्रतिशत ब्रोकर कमिशन लाग्ने छ ।
यस्तै २० लाखदेखि १ करोडसम्मको कारोबारमा शुन्य दशमलव ३० प्रतिशत र १ करोडभन्दा माथिको कारोवारमा शुन्य दशमलव २७ प्रतिशत कमिशन लाग्ने छ । यस्तै यसअघि ब्रोकरले लिने न्युनतम कमिसन २५ रुपैयाँ रहेकोमा अब त्यो घटेर १० रुपैयाँ बनाइएको छ ।
बोर्डका अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरीद तथा बिक्री कारोबारमा रू.५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, रू.५० हजारदेखि रू.५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, रू.५ लाख भन्दा माथि रू.२० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, रू. २० लाख भन्दा माथि रू.१ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र रू.१ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्ने भएको छ।
सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि रू. ५० हजारसम्म ०.१० प्रतिशत, रू.५० लाख सम्ममा ०.०५ प्रतिशत र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था भएको छ।
अहिले लगानीकर्ताहरूले शेयरर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। जसमा रू.५० हजारसम्मको कारोबार गर्दा ०.६, रू.५० हजारदेखि रू.५ लाखसम्म ०.५५, रू.५ लाखदेखि रू.२० लाखसम्म ०.५, २० लाखदेखि रू.१ करोडसम्म ०.४५ र रू.१ करोड माथिको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन्।
अहिलेसम्म लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यहीँबाट सीडीएससीलाई कमिसन जाने गरेको छ। लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमिसन तिर्ने गरेका छन्।
शेयर कारोवारमा दलाललाई कमिसनसहित बोर्ड र निक्षेप सदस्यलाई पनि शुल्क तिर्नुपर्छ । ब्रोकर कमिशन घटाए पनि बोर्डले आफूले लिने शुल्क र निक्षेप सदस्यले लिने शुल्कमा कुनै कटौती गरेको छैन ।