चितवन : भरतपुरमा निर्माण गरिएको (क्रुजसीप)को परीक्षण गरिएको छ । भ्रमण वर्ष २०२० को सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो।नारायणी नदीमा आइतबार 'क्रुजसीप' संचालन गरेर परीक्षण गरेपछि निर्माणकर्ता खुसी छन्। निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालक करिब डेढ किलोमिटर यात्रा गरेका थिए।
मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ । 'दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको छ, 'कंडेलले भने, ' नेपालमै पहिलो पटक संचालन गर्न लागिएको हुँदा के होला ? भन्ने थियो।'
भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा दुई सय २० जना यात्रुवाहक क्षमता भएको क्रुजसीप बनेको छ । दसैंअघि नै संचालन गर्ने भनिए पनि डिजाइन फेरिएपछि समय लागेको हो । क्रुजमा भीआइपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।
एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज निमार्ण गरिएको छ ।यो जहाज नर्वेजियन प्रविधिबाट निमार्ण गरिएको हो।भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्। सिंगापुर र भारतका प्राविधिकले नारायणी नदीको गहिराइको अध्ययन गरेर संचालन गर्ने सकिने निस्कर्ष निकालेका थिए ।
उक्त सीप एक करोड लागतमा निर्माण गरिएको कम्पनीको दावी छ। यसको तौल १० टन छ। निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुज निर्माणको काम पूर्ण भइसकेको छैन ।