बुटवल–कात्तिकदेखि चैत्रसम्मको हिउँदयाम मेला महोत्सवको समय हो। पुसको चिसोयाममा बुटवललाई पनि मेला महोत्सवले तताउने गरेको छ। बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको छ।
पुस महिनामा बुटवलमा लाग्ने प्रदर्शनी तथा मेलाको इतिहास साढे ३ दशक पुरानो हो। राजधानी बाहिर बुटवलबाटै मेला महोत्सवको सुरुवात भएको यहाँका व्यवसायीहरुको दाबी छ। बुटवल उद्योग वाणिज्य संघको आयोजनामा २०४१ सालमा पहिलोपटक औद्योगिक व्यापार मेलाको आयोजना भएको थियो। (तर यसमा रुपन्देही उद्योग संघले भने सहमति जनाउँदैन।)
तत्कालीन अञ्चलाधीशको कार्यालय (हालको उच्च अदालत) अगाडि ३ दिनसम्म व्यापार मेला सञ्चालन भएको थियो। सूर्यप्रसाद प्रधान त्यसबेला बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष थिए। व्यापार मेलाको तत्कालीन राजा विरेन्द्रबाट समेत अवलोकन भएको बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ सम्झन्छन्।
‘राजा वीरेन्द्र पश्चिमाञ्चलको भ्रमणमा आउँदा प्रदर्शनी अवलोकन गर्न हामीले प्रस्ताव ग¥यौं, उहाँबाट सहर्ष स्वीकार भयो’–उनले भने–‘राम्रो काम गरेका रहेछौ भनेर वीरेन्द्रले भन्नुभएको थियो ।’ मेलामा स्वदेशी उत्पादनका ३०–३५ वटा स्टल रहेको र अहिलेको जस्तो टिकटको व्यवस्था नभएको श्रेष्ठ सम्झन्छन् ।
बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला गरेकोे ४ वर्षपछि अर्को व्यवसायिक संस्था रुपन्देही उद्योग संघले २०४५ सालमा राष्टिय औद्योगिक प्रदर्शनीको आयोजना ग¥यो। त्यसबेला ५७ वटा स्टल सहभागी भएको र ४० हजार दर्शकले अवलोकन गरेको रुपन्देही उद्योग संघको अभिलेखमा छ। उद्योग संघले आफुले पहिलोपटक मेला आयोजना गरेको दाबी गर्दै आएको छ।
२०४५ सालमा औद्योगिक प्रदर्शनी भएपछि ८ वर्ष जति बुटवलमा प्रदर्शनी तथा व्यापार मेला आयोजना भएनन्। २०५३ सालमा रुपन्देही उद्योग संघले दोस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना ग¥यो। केही वर्षको अन्तरालमा प्रदर्शनीको आयोजना गर्न निकै गाह्रो भएको तत्कालीन औद्योगिक प्रदर्शनीका संयोजक श्यामकुमार पाठकले बताए। ‘त्यसबेला त कठीन नै थियो। सहभागिता जुटाउन, शान्ति सुरक्षाको व्यवस्था गर्न गाह्रो थियो। अनुभव पनि कम थियो ।’–उनले भने–‘त्यसपछि हामीले निरन्तरता दियौं। सहज पनि हुँदै गयो ।’
०५३ सालमा अहिले लुम्बिनी बस टर्मिनल भएको स्थानमा औद्योगिक प्रदर्शनीको आयोजना भएको थियो। त्यहाँ बसपार्क निर्माण हुन थालेपछि प्रदर्शनीस्थल सडक विभागको परिसरमा सरेको हो।
व्यवसायिक संस्थाबीचको खटपट र आलोपालोको सहमति
२०५५ सालमा बुटवल उद्योग वाणिज्य संघले आफ्नो तर्फबाट दोस्रो महोत्सव स्वरुप औद्योगिक व्यापार मेलाको आयोजना ग¥यो। दुवै व्यवसायिक संस्थाले प्रत्येक वर्ष बुटवलमा मेलाको आयोजना गर्न थाले। रुपन्देही उद्योग संघले राष्ट्रिय औद्योगिक प्रदर्शनीको नाममा मेला महोत्सव गर्दथ्यो भने बुटवल उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला नाम दिएर मेला महोत्सव सञ्चालन गरेको थियो।
पुस महिनामा उद्योग संघले प्रदर्शनी गरेपछि माघ फागनुमा बुटवल उद्योग वाणिज्य संघले सोही ठाउँमा व्यापार मेला गर्दथ्यो। एकै वर्ष दुईवटा मेला आयोजना हुँदा सहभागी हुने स्टलकर्ता र अवलोकनकर्ताहरु बाँडिएपछि दुवै पक्षलाई आर्थिक रुपले अफ्ठ्यारो पर्न थाल्यो। बेला–बेलामा दुई व्यवसायिक संस्थाबीच विवाद भयो। २०५७ सालमा बुटवल उद्योग वाणिज्य संघले सडक विभागमा व्यापार मेला आयोजना गर्न खोज्यो। तर उद्योग संघले पहिले बुक गरेको भन्दै मानेन। ‘हामीले गर्छौं अनि तपाईहरुलाई संरचना पनि छोड्छौं भन्दा उहाँहरुले हुँदैन भन्नुभयो ।’–बुटवल उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष अर्जुनमान सैंजु भन्छन्–‘बडो अफ्ठ्यारोमा परियो। बुटवलमा अन्त ठाउँ पनि थिएन। त्यसपछि कान्ति स्कुलमा मेला गरियो ।’
त्यसबेला १ सय ७६ वटा स्टल सहभागी भए। मेला सञ्चालन गरेबापत कान्ति स्कुलमा विद्यार्थी हित कोष पनि खडा गरेको सैजुले बताए। कान्ति माविमा मेला सञ्चालन गर्दा पनि केही चुनौतीको सामना गर्नुपरेको उनले सुनाए। ‘कहिले अभिभावक उचाल्ने, कहिले विद्यार्थीलाई उचाल्ने, मुद्दा दिने जस्ता कार्य केही वर्गबाट हुन थाल्यो ।’–सैजुले भने–‘तर सबैको साथले मेला सम्पन्न भयो ।’
अर्को वर्ष २०५८ सालमा पनि बुटवल उद्योग वाणिज्य संघले पनि मेला सञ्चालन गर्ने तयारी गरिरहेको थियो। त्यही वेला रुपन्देही उद्योग संघका तत्कालीन अध्यक्ष परमानन्द खरेलले आलोपालो मेला गर्ने प्रस्ताव बुटवल उद्योग वाणिज्य संघसँग गरे। ‘उहाँहरुले यसपटक हामीले गर्छौैं तपाइहरुले नगर्नुहोस भन्नुभयो। हामीले मेला गर्ने निर्णय गरिसकेकाले मैले मानिन। पटकपटक आग्रह गरेपछि म पनि सकारात्मक भएँ ।’–सैंजुले भन–‘दोहोरो मेला लाग्दा स्टलधनी र अवलोकनकर्ताहरुमा पनि राम्रो सन्देश गएको थिएन ।’
आफू सकारात्मक भएपनि संघका अरु सदस्यलाई मनाउन समय लागेको सैंजु सम्झन्छन्–‘हाम्रा साथीहरुले मान्नुभएको थिएन। मैले यसरी जाँदा आगामी वर्ष पनि गाह्रो हुन्छ भनेर सम्झाए ।’ त्यसपछि रुपन्देही उद्योग संघ र बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु सहित बैठक बस्यो।
बैठकमा प्रत्येक वर्ष दुई व्यवसायिक संस्थाले पालैपालो मेला आयोजना गर्ने सहमति भयो। २०५९ सालपछि एकवर्ष रुपन्देही उद्योग संघ र अर्को वर्ष बुटवल उद्योग वाणिज्य संघले प्रदर्शनी तथा मेलाको आयोजना गर्न थाले। १० वर्ष पछि २०६९ सालमा अर्को व्यवसायिक संस्था रुपन्देही व्यापार संघ पनि आलोपालो प्रणालीमा मिसियो। व्यापार संघले अन्तर्राष्ट्रिय व्यापार मेलाको नाममा बुटवलमा मेला सुरु ग¥यो।
अहिले बुटवलमा प्रत्येक वर्ष पुस महिनामा ३ वटा संस्थाले आलोपालो गरेर मेला महोत्सव गर्ने गरेका छन्। तत्कालीन नेकपा माओवादी केन्द्र निकट मानिएको उद्योग व्यापार संगठनले पनि २ वर्ष मेला आयोजना गर्यो। तर ऊ पुसमा हुने मेलाको आलोपालो प्रणालीमा थिएन। उसले तिहारको बेला कात्र्तिक महिनामा मेला आयोजना गरेको थियो। कात्र्तिकमा अवलोकनकर्ताको आकर्षण पनि कम थियो। अर्कोतर्फ माओवादी केन्द्र र एमालेबीच एकता भएपछि सो संगठनले बुटवलमा मेला आयोजना गरेको छैन।
बजार हुँदै गाउँ पसे मेला महोत्सव
बुटवलमा पुसमा लाग्ने मेला ब्राण्ड नै बनेको छ। मेला हेर्न जिल्ला बाहिरबाट समेत मानिसहरु आउने गर्दछन्। तर पछिल्लो समयमा बजारैपिच्छे मेला महोत्सव लाग्दा बुटवलको मेलाको आकर्षणमा केही कमी हुन थालेको छ। तर पनि जाडो मौसममा लाग्ने मेलामा विदाका दिनमा घुइँचो हुने गर्दछ।
केही वर्ष यता रुपन्देहीका सबै जसो नगरपालिका र केही गाउँठाउँमा पनि मेला महोत्सव हुन थालेका छन्। रुपन्देहीमै सिद्धर्थनगर नगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा वर्षैपिच्छे मेला महोत्सव हुन थालेका छन्। भैरहवामा उद्योग व्यापार संगठनको आयोजनामा मेला भइसकेको छ भने बुटवलको मेला सकिएलगत्तै तिलोत्तमामा मेला सुरु हुने छ। त्यसपछि सैनामैना र देवदहले मेलाको आयोजना गर्ने छन्।
रुपन्देहीको कञ्चन गाउँपालिकाको अस्नैयामा पनि स्थानीय क्लबको आयोजनामा साता दिनको मेला लागिसकेको छ। कञ्चन गाउँपालिकाकै दानापुर तालमा पनि महोत्सव हुँदै आएको छ। विगतदेखि नै धार्मीक मेला लाग्ने गरेको नरैनापुर, सैनामैनाको भड्छा गाउँको मेलाले पनि व्यवसायिक रुप लिँदै छ।
बस्तुगत मेला
ठूला खालका महोत्सव मात्र नभई बुटवलमा बस्तुगत रुपमा मेला महोत्सवहरु हुन्छन्। बुटवल उद्योग वाणिज्य संघले आफ्नो पालो नपरेको वर्ष छुट्टै कृषि मेला गर्ने गरेको छ। त्यस्तै संघको आयोजनामा जुत्ता, मोबाईल लगायतका मेला पनि हुँदै आएको छ। कम्प्युटर एशोसिएनस क्यान महांघले पनि प्रत्येक वर्ष सूचना प्रविधि मेलाको आयोजना गर्ने गरेको छ।
बन्दै छ मेलाको स्थायी संरचना
झण्डै एक दशकभन्दा बढी समयदेखि बुटवल मण्डपमा लाग्दै आएको मेला महोत्सव अहिले बुटवल ११ देवीनगरमा लाग्दैछ।
देवीनगरको एन्फा एकेडेमीको उत्तर तर्फको मैदानमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा औद्योगिक व्यापार मेला हुँदैछ।
बुटवल मण्डपमा स्थायी प्रदर्शनीको केन्द्रको निर्माण कार्य भइरहेकाले मेला स्थान देवीनगर सरेको हो। बुटवल मण्डपमा मेलास्थल तयार नहुँदासम्म अब केही वर्ष देवीनगरमै मेला महोत्सव लाग्ने छ। मेला महोत्सवको संरचना तयार पार्दा प्रत्येक वर्ष लाखौं रुपैया खर्च हुने हुँदा व्यवसायीहरुले स्थायी प्रदर्शनी केन्द्रको माग गर्दै आएका थिए। सो अनुसार अहिले प्रदर्शनी केन्द्रको निर्माण सुरु भएको हो।