बुटवल । उखु किसानहरुलाई बक्यौता रकम नतिरेको आराेपमा विहीबार पक्राउ परेका मनोज अग्रवालको लुम्बिनी चिनी उद्योग झण्डै २ वर्ष देखी बन्द छ । नवलपरासी पश्चिमको सुनवलमा रहेको अग्रवालको चिनी उद्योगले तीन बर्षदेखि उखु किसानहरुलाई बक्यौता रकम भुक्तानी गरेको थिएन । पारिवारिक विवादले चिनी मिल सञ्चालनमा समस्या आएपछि अग्रवालको स्वामित्वमा रहेको उद्योगले दुई बर्षदेखि चिनी उत्पादन गरेको छैन ।
सरकारी स्वामित्वमा रहेको चिनी उद्योगलाई २०६२ सालमा निजीकरण गर्दै अग्रवाल परिवारले मिल सञ्चालन गर्न थालेको थियो । त्यसबेला मनिष अग्रवालका नाममा उद्योग सञ्चालनमा आएको थियो । उनी र उनका बुवा हरिप्रसाद अग्रवालको २०७४ सालमा मृत्यु भएपछि मिल कसले सञ्चालन गर्ने भनेर समस्या उत्पन्न भयो ।
पछि मनिषकी पत्नी सुशीला गोयलले उद्योग सञ्चालन गर्ने इच्छा त जाहेर गरिन् तर व्यवसायिक अनुभव नभएकाले उनले आफ्ना दाई कैलाश गोयललाई व्यवस्थापनको जिम्मा दिइन् ।
पछि अग्रवाल परिवारमा अंशबण्डाको विवाद निम्तिएपछि चिनी उद्योग कसको अंशमा जाने भन्ने अन्यौल प¥यो । विवादका बिच शुसीलाका दाईले अग्रवाल परिवारलाई मिलको साँचो बुझाएपनि किसानलाई गर्नुपर्ने भुक्तानी, बैंकको ऋण आदीले गर्दा मिल सञ्चालनमा कोही पनि अगाडि सर्न मानेनन् ।
तर, पछिल्लो पटक अग्रवाल परिवारका मनोज अग्रवालले लुम्बिनी चिनी उद्योग चलाउने मिलापत्र भएअनुसार उनले उद्योगको बक्यौता दायित्व पनि स्वीकार गरेका थिए । यद्यपी, किसानलाई तिर्नुपर्ने बक्यौता र ऋण धेरै भएकाले उनले मिल सञ्चालनमा ल्याउन सकिरहेका थिएन् । विवादै विवादका बिच गत दुई बर्षदेखि उद्योग बन्द छ ।
उद्योग बन्द भएपछि यसको प्रत्यक्ष असर उद्योगलाई निरन्तर उखु आपूर्ती गरिरहेका उखु किसानहरुलाई परेको छ । उनीहरुले तीन बर्षदेखि उखुको भुक्तानी पाउन सकेका छैनन् ।
आजित भएपछि उखु किसानहरुले गत मंसिर ३० गते लुम्बिनी चिनी उद्योगका सञ्चालक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दामा उजुरी दिएका थिए । उजुरी परेपछि उपस्थिती गराइदिन जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए । ‘केही किसानहरुले उजुरी दिनुभएको छ। त्यसको कानुनी प्रक्रियाका बारेमा छलफल भइरहेको छ।’ उनले भने ‘केही कुरा बुझ्नुपरेकाले उपस्थिती गराइदिन भनेर पत्र लेखेका थियौं।’ सोही आधारमा पर्साबाट चिनी उद्योगी अग्रवाल आज पक्राउ परेका हुन् ।
नवलपरासी पश्चिमका उखु किसानले लुम्बिनी चिनी मिलसँग १० करोड भन्दा बढी बक्यौता पाउन बाँकी रहेको उखु उत्पादक कृषक संघर्ष समितिका अध्यक्ष उमेश यादबले बताए । ‘२० औं पटक हामीले प्रमुख जिल्ला अधिकारी, उद्योग मन्त्रालय, कृषी मन्त्रालय सबै धाइसक्यौ’ उनले भने ‘दिन्छौं, दिन्छौ भन्नुहुन्छ, तर नदिने । त्यसैले अस्ती भरखर आन्दोलन गर्यौं। हाम्रो उजुरीको आधारमा ठगी मुद्दा दर्ता भएको छ ।’
तीन वर्षदेखी भुक्तानी नदिएपछि किसानहरुले लुम्बिनी चिनि मिललाई उखु दिन छोडेका छन्। ‘भुक्तानी नै नपाएपछि कहाँबाट उखु दिनु’ यादवले भने–‘भुक्तानी नपाएपछि यसैपनी उखु खेतीबाट किसानहरु पलायन हुने अवस्था आएको छ ।’
यसरी भएको थियो चिनी उद्योगको निजीकरण
२०४६ सालमा चीन सरकारको अनुदान सहयोगमा नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना लिमिटेड स्थापना भएको थियो । नेपाल सरकारको १० करोड र चिनियाँ सरकारको ३० करोड गरी ४० करोड लगानीमा चिनी कारखानाको स्थापना भएको हो ।
८६ विघाहा क्षेत्रफलमा चिनी उद्योग फैलिएको छ । कारखानाको परिसरमा चिनी मिलसँगै, स्प्रीट प्लान्ट, मदिरा उत्पादन गरी ३ वटा कारखाना छ । त्यस बाहेक कार्यालय र कामदार तथा कर्मचारीहरु बस्ने आवास गृह र खेलमैदान समेत छ । डेढ दशक सरकारी स्वामित्वमै सञ्चालन भएको चिनी उद्योग पछि निजीकरण गरियो । २०६२ सालमा नेपाल सरकारले मनिष अग्रवाललाई मिल बेचेको थियो ।
अग्रगाललाई मिल र स्प्रिट प्लान्टका मेसिन तथा पार्टपुर्जा ७ करोडमा बिक्री गरेको थियो भने भवन तथा जग्गाको वार्षिक ४२ लाख रुपैयाँ भाडा दिने गरी २५ वर्षको सम्झौता भएको थियो ।