भैरहवा : निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको सबै काम सकिनु पर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध बिमानस्थल स्तरउन्नती आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरीक उड्यन प्राधिकरणलाई बिहिबार पत्र पठाएको छ ।
निर्माण कम्पनि नर्थ वेस्ट सिभिल एभियसन कम्पनिले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भए पछि १० दिन अघिनै म्याद थप गर्न (थप समय ) माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।
निर्माण कम्पनिको पत्र आईसकेपछि हाल सम्म सम्पन्न भएका कामहरु तथा अब बाकी कामहरुको आधारमा ३ महिना भित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकोले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेका छौ, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना(गौतमबुद्ध बिमानस्थल स्तर उन्नती आयोजना)का योजना प्रमुख ईं प्रबेश अधिकारीले बताए । यो म्याद थप अब अन्तिम पटकका लागी हुने समेत अधिकारीले बताए ।
समयमै निर्माण नसकिएपछि म्याद थप्नुको बिकल्प रहेन, अहिले अन्य समस्याहरु जस्तो निर्माण सामग्री, आर्थिक समस्या निर्माण कम्पनिलाई छैन र पहिला भन्दा धेरै छिटो काम भएको उनको भनाई छ । अहिले भौतिक पुर्बाधार तर्फ ८६ प्रतिशत काम सकिएको छ , उनले भने ।
यस अघि पनि तोकिएको समयमा काम नसकिए पछि ३ पटक समय थप भैसकेको छ । पहिलो पटक २०१८को १८ जनवरी देखि जुन १५ सम्म, दोश्रो पटक २०१८ जुन १५ देखि जुन २८(२०१९) सम्म, तेश्रो पटक जुन २०१९को २८ देखि डिसेम्बर ३१ सम्म का लागी म्याद थप भएको थियो ।