काठमाडौँ- नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ।
शनिबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए। उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीहरु समेत सुरक्षित हुने बताए ।
निगमका कार्याकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आधुनिक प्रविधि मार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए। उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउने बताए ।
निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड/अनलोड गर्ने काम सुरु गरेको छ । एपिआइ मापदण्ड अनुसार पाइपलाइन जडान, भल्भहरु, पम्पहरु जडान साथै टैंक/ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।
निगमका अनुसार २ करोड ५० लाख लागतमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको छ । यसमा तीनवटा पम्पहरु जडान भएका छन् । यो प्रविधिले ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि यो कार्यालयबाट ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।
पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९/१० बजेसम्म कमृचारी काममा खटिनु पर्नेमा अहिले त्यो समस्या समाधान भएको आचार्यको भनाइ छ ।
यसैगरी सो स्थानमा निगमले टैंक ट्रक पार्किङ्ग यार्डको विस्तार गरेको छ । पार्किङ्ग निर्माण हुँदा कार्यालयभित्र नै एकपटकमा करिब सय टैंक/ट्रकहरु पार्किङ्ग गर्न सकिने निगमले जनाएको छ । यसैगरी निगमले दुर्घटनाबाट बच्न ईलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, ईलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्य अनुरुप ईलेक्ट्रिक प्यानल बोर्डहरु, एटियस प्यानलहरुको जडान सहितको ईलेक्ट्रिकल प्यानल हाउस निर्माण गरिएको छ ।
यस ईलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेशन पछि कन्ट्रोलिङ्ग कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकरण गरेसँगै व्यवसायीलाई सहज बताएको बताए ।
उता मट्टितेल टैंक भण्डारण निर्माण नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बनीमा मट्टितेल टैंक भण्डारण निर्माण गरेको छ । भलवारी स्थित कार्यालयको डिपोमा मट्टीतेल टैंक भण्डारण निर्माण गर्दै आएको टैंकलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ मट्टितेल टैंक भण्डारण निर्माण गरेको हो ।
निगमले १ करोड लगानीमा उक्त टैंक भण्डारण निर्माण गरेको छ । हाल यस डिपोमा पेट्रोलको खपत करिब २ सय देखि ३ सय किलो लिटर रहेको थियो । पेट्रोलका भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग आपूर्ति धान्न सक्ने निगमले मद्मितेलको टैंकलाई पेट्रोलमा रुपान्तरण लागेको निगमले जानकारी दिएको छ । यसले पेट्रोलको भण्डारण क्षमतामा करिब ३ गुनाले बृद्धि भई करिब ३ दिनको आपुर्ति धान्न सक्नेछ ।
निगमका अनुसार मट्टितेलका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा टैंक निर्माण गरेको छ ।