काठमाडौं-आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दैछ ।
अब दोस्रो चरणमा कम्पनीले यही पूस २४ गतेबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने छ । कम्पनीले पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी गर्न लागेको आइपीओ हालको चुक्ता पूँजीको १२ प्रतिशत बराबरको हो । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले आगामी २ आर्थिक वर्षमा नेटवर्थ १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण गरको छ । यस अघि कम्पनीको नेटवर्थ ०७३/०७४ मा ९४.५२ ०७४/७५मा ९६.६३ ७५/७६ मा ९६.६९ र ७६/७७ मा ८४.८८ रहेको छ ।
यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ मा ६ करोड १३ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएकोमा आउँदो वर्ष २०७८/७९ मा भने यस्तो नाफा बढेर ३६ करोड ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
कम्पनीले सञ्चालन मुनाफा पनि आर्थिक वर्ष २०७९/८० मा ८२ करोड १७ लाख रुपैयाँको उचाइमा पुग्ने अनुमान गरेको छ ।
चालु वर्ष १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १४ करोड १७ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९/८० बढेर ३३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।