बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको नेतृत्वको लागि शनिवार निर्वाचन हुँदैंछ । जिल्लानगरका ३० र एशोसिएट तर्फका १ सय १२ उद्योग तथा व्यवसायीक प्रतिष्ठानले मतदान गर्ने छन् । महासंघको प्रदेश अध्यक्षको लागि बुटवल उद्योग बाणिज्य संघले पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई अघि सारेको छ । त्यस्तै शिद्धार्थ नगर उद्योग बाणिज्य संघले पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मालाई प्रदेश अध्यक्षको उम्मेद्वार बनाएको छ ।
को हुन् उम्मेद्वार ?
बुटवलका युवा व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठका पिता हिराप्रसाद श्रेष्ठ पनि संघको अध्यक्ष र महासंघको कार्यसमिति सदस्य भइसकेका छन्। पिता पछि सुरेन्द्र अहिले व्यवसायी संस्थामा क्रियाशिल छन्। ०४४÷४५ सालदेखी व्यापार व्यवसायमा लागेका सुरेन्द्रप्रसाद श्रेष्ठले ३ कार्यकाल बुटवल उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, २ कार्यकाल कोषाध्यक्ष, एक कार्याकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएर विताएका छन् । एक कार्यकाल नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य पनि भइसकेका छन्। श्रेष्ठको सिद्धिविनायक फुट प्रोडक्ट, सिद्धिविनायक स्न्याक एन्ड नुडल्सका साथै डिलरशिपको व्यवसाय पनि छ।
अर्का उम्मद्वार कृष्णप्रसाद शर्मा भैरहवाका पुराना व्यवसायी हुन्। उनी व्यवसायीक संस्थामा २६ वर्षदेखी आबद्ध छन्। खाद्यान्न गल्ला कारोबार, ठेक्का पट्टा र पेट्रोलियम व्यवसायमा उनी आबद्ध छन्। शर्मा सिद्धार्थनगर उद्योग बाणिज्यसंघको पूर्व अध्यक्षसमेत हुन्। कार्यसमिति सदस्यदेखि अध्यक्षसम्म गरी संघको विभिन्न पदमा उनी १३ वर्ष रहे। ४ कार्यकाल नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य भए ।
कर र सिमा समस्या मुल मुद्दा
अध्यक्ष बन्न मैदान उत्रेका श्रेष्ठ र शर्मा दुबैले व्यवसायीको हितमा काम गर्ने बताएका छन्। उनीहरुले प्रदेश महासंघको संस्थागत सुधारको मुद्दा पनि उठाएका छन्।
संघीय संरचनामा मुलुकमा तीन तहको सरकार बनेपछि व्यवसायीहरुले दोहोरो÷तेहरो करका कारण आर्थिक भार खेप्नुपरेको भन्दै श्रेष्ठले त्यसलाई कम गर्न पहल गर्ने लुम्बिनी टाइम्सलाई बताए। ‘तिन तहको सरकार बनेपछि व्यवसायीहरुलाई सहज होला भन्दा करको भार भयो ।’ उनले भने ‘धेरै ठाउँमा कर तथा विभिन्न शुल्क तिर्दा समस्या भयो । एक ठाउँमा मात्र कर तिर्ने व्यवस्था हुनुपर्छ भन्ने माग जोडदार तरिकाले उठाउँछु।’ । प्रदेश महासंघ अझै कतिपय कुरामा स्वायत्त नभइसकेकाले विधान संसोधन गरेर स्वायत्त बनाउन पहल गर्ने श्रेष्ठले बताए।
कृष्णप्रसाद शर्माले सिमा क्षेत्र र भन्सार व्यवस्थित नहुँदा व्यवसायीलाई परेको मर्कालाई मुख्य एजेण्डाका रुपमा अगाडि सारेका छन् । उनले भैरहवाको विशेष आर्थिक क्षेत्रलाई पूर्ण षमतामा सञ्चालन गर्न पहल गर्नुपर्ने समेत बताए । ‘भैरहवा नेपालको आपुर्तिको हबको रुपमा रहेको छ। भन्सार नाकाका कतिपय अव्यवस्थीत पाटोलाई सुधार्नुपर्छ, सुख्खा बन्दरगाहा सञ्चालन नहुँदा समस्या छ । सेजमा उद्योगीहरुको आकर्षण हुन सकेको छैन,’ उनले भने, ‘यी समस्या प्रदेशका अरु तराईका जिल्लामा पनि छ। समाधान गर्न पहल गर्छु।’
नेपालको आपूर्ति व्यवस्थीत गर्दा मात्र व्यवसायीका धेरै समस्या समाधान हुने बताए। आफू लुम्बिनीसँग जोडिएकाले पर्यटन पर्बद्धनमा पनि भुमिका खेल्ने शर्माले बताए।
आ–आफ्नै दावी
सुरेन्द्र श्रेष्ठले आफू व्यवसायीको माझमा आफू परिचित रहेको बताए । ‘एसोसिएट र जिल्लानगर दुबैतर्फका मतदाताले मलाई विश्वास गर्नुहुन्छ। व्यवसायीहरुसँग म परिचित छु। विजयी हुनेमा ढुक्क छु,’ उनले भने–‘उत्कृष्ट करदाताको रुपमा पनि म पुरस्कृत भइसकेको छु ।’ श्रेष्ठले राज्यसँग सहकार्य गर्न सक्ने खुबी आफूसँग रहेको दाबी गरे।
कृष्णप्रसाद शर्माले लामो समय उद्योग बाणिज्य संघमा रहेकाले आफूले धेरै व्यवसायीको मन जितेको दाबी गरे। ‘मैले हिजो गरेका काम, व्यवसायीक संस्थामा रहँदाको सम्पर्क र सम्बन्ध विस्तारका कारण व्यवसायीहरुको मन जितेको छु। त्यसैले विजयी हुने मत पाउँछु जस्तो लाग्छ,’ उनले भने–‘१ सय १२ वटा एशोसिएटको किप एन्ड टचमै छु । उहाँबाट धेरै भोट पाउँछु । जिल्ला नगरको पनि राम्रो साथ रहने छ।’
मुलुक संघीय संरचनामा गएपछि नेपाल उद्योग बाणिज्य महासंघले लुम्बिनी प्रदेश दोस्रो कार्यकालको लागि नेतृत्वको खोजीमा छ । शनिवार भैरहवामा हुने दास्रो अधिवेशनले गुणनिधि तिवारीलाई निवर्तमान गराएर सुरेन्द्रप्रसाद श्रेष्ठ र कृष्णप्रसाद शर्मा मध्ये एकलाई अध्यक्षमा निर्वाचित गर्ने छ ।